३० औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको शुभकामना सन्देश
आज ३० औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोबर १) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ज्येष्ठ नागरिकहरूको दीर्घायू, सुस्वास्थ्य, सुख, शान्ति र सम्मानित जीवनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिकहरूलाई सम्मान र अधिकारमा पहुँच पुर्याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघले यस वर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा Pandemics: Do they change how we address age and ageing? भन्ने नारा निर्धारण गरेको छ । हाल विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ को महामारीका सन्दर्भमा यो नारा सामयिक छ ।
हाम्रो सांस्कृतिक परम्परा र पारिवारिक मूल्यको एउटा मुख्य विशेषता ‘मातृदेवो भवः, पितृ देवो भवः’को भावना पनि हो । सामाजिक दायित्वप्रति संवेदनशील यस्ता मौलिक मान्यतालाई आत्मसात गर्दै बदलिँदो परिवेशमा ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु हामी सबैको कर्तव्य हो । यसर्थ, आ-आफ्नो स्थानबाट ज्येष्ठ नागरिकहरूलाई दिनुपर्ने सम्मान र सहयोग पुर्याउन म सबैमा आव्हान गर्दछु ।
परिवारको लालनपालन सहित जीवनको अधिकांश समय विभिन्न क्षेत्रमा क्रियाशील रही आफ्नो ज्ञान, सिप र अनुभवलाई प्रयोग गरेर समाज सुधार र राष्ट्रोत्थानमा ज्येष्ठ नागरिकहरूले पुर्याउनु भएको योगदानको म उच्च मूल्याङ्कन गर्दछु । ज्येष्ठ नागरिकहरूले जीवनभर सँगाल्नुभएको ज्ञान, सिप र अनुभवलाई ग्रहण गर्दै नयाँ पुस्ता मुलुकको समृद्धि हासिल गर्नेतर्फ उन्मुख हुनेमा म विश्वस्त छु ।
ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षा प्रदान गर्न नेपालको संविधानले गरेको मौलिक हकको व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्ने दिशातर्फ नेपाल सरकार अग्रसर रहेको छ । ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाका लागि विक्रम सम्बत् २०५१ सालदेखि सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता यस सन्दर्भमा एउटा कोसेढुङ्गाको रूपमा रहेको छ, जसले आजसम्म निरन्तरता पाएको छ । सामाजिक सुरक्षाको दायरालाई क्रमशः फराकिलो बनाउँदै सरकारद्वारा स्वास्थ्य बीमा कार्यक्रम समेत लागु गरिएको छ । यी कदमहरूले ज्येष्ठ नागरिकप्रति राज्य, समाज र परिवारको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र उहाँहरूको आत्मसम्मान वृद्धि गर्न योगदान पुगेको छ भन्ने मेरो विश्वास रहेको छ । ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरूलाई जीवनोपयोगी बनाई थप विस्तार गर्दै लैजान म सम्बद्ध पक्षको ध्यानाकर्षण गर्दछु ।
अन्तमा, ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, मर्यादित र सुखमय बनाउन सबैमा हार्दिक आह्वान गर्दछु ।
धन्यवाद ।
२०७७ असोज १५ गते बिहीबार ।