महान पर्व सोनमल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तामाङ्ग दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवम् प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
तामाङ्ग समुदायले यस पर्वलाई नयाँ वर्ष र न्वागी पूजाका रुपमा हर्षोल्लासका साथ आपसमा मनोरन्जन र खुशी साटासाट गरी मनाउने गर्दछन् । विविधताले भरिपूर्ण समृद्ध नेपाली संस्कृतिभित्रको तामाङ्ग जाति तथा समुदायले मनाउने चाड पर्व र अपनाएको साँस्कृतिक परम्पराको बेग्लै महत्व रहेको छ । हिमाल, पहाड, तराइ तथा पूर्वदेखि पश्चिम महाकालीसम्म वसोवास गर्ने भिन्न भिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवम् साँस्कृतिक पहिचान वोकेका सबै नेपालीले मनाउने विभिन्न चाडपर्वहरुले राष्ट्रिय एकता सुदृढ पार्न र जातजातिवीच सामाजिक सद्भाव अभिवृद्धि गर्न सफल भएका छन् । मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा सम्वर्द्धन गर्न सकेमा विश्व सामु नेपाल र नेपालीको पहिचान सदा कायम राख्न सकिने भएकोले यसतर्फ हामी सबैको ध्यान पुग्नु पर्दछ ।
अन्त्यमा, सोनमल्होसार पर्वले सबै नेपालीमा नयाँ उत्साह एवम् उमङ्ग वढाओस् र देशमा शान्ति, सद्भाव र सहिष्णुता कायम गरी आर्थिक र सामाजिक रुपले समृद्ध नेपाल निर्माण गर्ने महाअभियानमा लाग्न सबैमा प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।
धन्यवाद
२०७४ साल माघ ४ गते विहीवार