२५६५औँ बुद्ध जयन्तीको शुभकामना सन्देश
बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रका गौरव एवं विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६५औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका बौद्ध धर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
वैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतम बुद्धको त्रि-संयोग अर्थात् जन्म¸ ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतम बुद्धप्रति श्रद्धा एवं भक्तिभाव व्यक्त गर्ने पावन दिवसका रूपमा बुद्ध जयन्ती मनाउने गरिन्छ ।
विश्वले शान्तिका प्रकाशका रूपमा उच्च सम्मान गर्ने महान् गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय हो । बुद्ध जयन्तीलाई हाम्रो राष्ट्रको प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणा लिंदै प्रगतिको बाटोमा अग्रसर रहन प्रण गर्ने अवसरका रूपमा लिनुपर्दछ । शान्तिदूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा धार्मिक¸ सामाजिक तथा सांस्कृतिक विविधता बीच आपसी सद्भाव¸ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ हुनका साथै यसबाट विश्व शान्तिका लागि समेत मद्दत पुग्नेछ भन्ने मलाई लागेको छ ।
यस समयमा विश्वव्यापी महामारी कोभिड-१९ को सङ्क्रमण तीव्र बनेकाले यसलाई नियन्त्रण गर्न नेपाल सरकारले विभिन्न सहर एवं जिल्लाहरूमा निषेधाज्ञा जारी गरेको छ । तसर्थ सरकारद्वारा जारी जनस्वास्थ्यका मापदण्डहरू र निषेधाज्ञाका नियमहरूको पालना गर्दै सुरक्षित रूपमा बुद्ध जयन्ती मनाउनका लागि म सबैलाई हार्दिक आह्वान गर्दछु ।
अन्तमा, सम्पूर्ण विश्वले कोभिड-१९ को महामारीबाट शीघ्रातिशीघ्र उन्मुक्ति पाउनेछ भन्ने आशा गर्दै २५६५औँ बुद्ध जयन्तीको यस अवसरले नेपालीहरूको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सबैलाई अभिप्रेरित गर्न सकोस् भन्ने कामना गर्दछु ।
धन्यवाद ।
२०७८ जेठ १२ गते बुधबार ।