माननीय उपप्रधान एवं शिक्षामन्त्री,
माननीय मन्त्रीहरु,
माननीय सांसदहरु,
संबैधानिक निकायका प्रमुखहरु,
उपकुलपतिहरु,
राष्ट्रसेवकहरु,
विभूषित विद्यार्थी तथा अनुसन्धाताहरु,
भद्रमहिला तथा सज्जनवृन्द !
३८ औँ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा उत्कृष्ट विद्यार्थी एवं अनुसन्धाताहरुलाई विभूषित गर्ने समारोह आयोजना भएकोमा खुशी व्यक्त गर्दै शिक्षा मन्त्रालयलाई धन्यवाद दिन चाहन्छु ।
आज पदक ग्रहण गर्ने सम्पूर्ण उत्कृष्ट व्यक्तिहरुमा बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गर्दछु । यहाँहरुबाट आर्जित ज्ञान र विद्वता मुलुकको सामाजिक आर्थिक समृद्धिमा सदुपयोग हुने विश्वास व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
देश विकासको आधारस्तम्भ शिक्षा हो । शिक्षाले सामाजिक, साँस्कृतिक र राजनैतिक रुपमा चेतनशील र जागरुक नागरिक तयार गर्छ भने आर्थिक रुपमा सक्षम हुने वातावरण र पूर्वाधार निर्माण गर्दछ । देशको आर्थिक विकासका लागि सीपयुक्त दक्ष जनशक्ति तयार गर्ने कार्य शिक्षाले नै गर्छ । यही मूल्यमा आधारित भई नेपालमा औपचारिक एवं अनौपचारिक पद्धतिमार्फत विद्यालयतहदेखि उच्चतह सम्मको शिक्षामा सबै नागरिकको समान पहुँचको व्यवस्था गरिएको हो । त्यसैको आधारमा
आ–आफ्नो क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएकाहरुलाई यस वर्ष ३८ औँ शिक्षा दिवसका अवसरमा विभुषित गरिएको हो ।
नेपाल अहिले एक महत्वपूर्ण ऐतिहासिक चरणमा रहेको छ । हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेर यसको कार्यान्वयन गरिरहेका छौँ । संविधान जारी भएपछि स्थानीय तहको निर्बाचन सम्पन्न हुने अन्तिम घडीमा छौँ भने प्रादेशिक र संघीय निर्वाचन घोषणा भएर त्यसको तयारीमा जुटेका छौँ । यी सबै निर्वाचनले राज्य संचालनका संवैधानिक र कानूनी व्यवस्थालाई थप संस्थागत र सुदृढ गर्नेछन् भन्ने मैले विश्वास लिएको छु ।
सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मूख समृद्ध एवं समुन्नत नेपाल निर्माण अबको प्रमुख कार्यभार हो । मानव अधिकारको पूर्ण संरक्षणसहित विश्व परिवेशमा शान्तिपूर्ण देशको पहिचान कायम गर्दै विकासोन्मुख देशबाट विकसित देशमा रुपान्तरण गर्नुपर्ने आजको आवश्यकता हो । शदीयौँदेखि अभ्यासमा रहेको पूर्वीय ज्ञान, सीप र प्रविधिजस्ता महत्वपूर्ण सम्पदालाई संरक्षण तथा संवर्द्धन गर्दै तिनलाई समयानुकूल आधुनिकीकरण गरी समग्र शिक्षा पद्धति वैज्ञानिक तथा जनमुखी बनाउनुपर्ने अबको खाँचो हो ।
उच्च प्राविधिक शिक्षाले औद्योगिकीकरण, दिगो आर्थिक वृद्धि र सामाजिक रुपान्तरण सम्भव हुन्छ । उच्चस्तरीय जनशक्ति विकासका लागि उच्च शिक्षालाई सर्वशुलभ र गुणस्तरीय बनाउनु पर्दछ । प्राविधिक विषयमा नेपालमा विश्वस्तरीय शिक्षा सञ्चालन गर्ने परिवेश निर्माण हुँदैजानु खुशीको विषय हो । यसबाट देश तथा विश्वपरिवेशले खोजे र सोचे अनुसारको जीवनोपयोगी जनशक्ति उपलव्ध हुने कुरामा विश्वास गर्न सकिन्छ ।
नेपालको संविधानले नागरिकलाई आधारभूत शिक्षामा पहुँचका लागि अनिवार्य तथा निःशुल्क र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हकको व्यवस्था गर्नु शैक्षिक विकासका लागि महत्वपूर्ण पाइला हो । फरक क्षमता भएका र आर्थिक रुपले विपन्नलाई कानून बमोजिम निःशुल्क उच्च शिक्षा पाउने हकको व्यवस्था हुनु खुशीको विषय हो । नियमित रुपमा उच्च शिक्षा हासिल गर्न नसकेका तर उच्च शिक्षाको अभिलाषा राख्नेहरुलाई दूर शिक्षाको माध्यमबाट उच्च शिक्षा प्रदान गर्न पहल हुनु सकारात्मक विषय हो । उच्च शिक्षा प्रदायक संस्थाहरुबाट शिक्षामा गुणस्तर कायम गर्न कोशिस हुनु सामयिक हो । यस प्रसंगमा गुणस्तरीय उच्च शिक्षा उपलव्ध गराउने प्रतिबद्धता पूरा गर्न सम्बद्ध सबैलाई सफलता मिलोस् भन्ने शुभकामना दिन चाहन्छु ।
विनाशकारी भूकम्प र हालैको बाढि पहिरोबाट क्षत विक्षत शैक्षिक संस्थाहरुको पुनर्निर्माण कार्यलाई तीव्रता दिई सबैले सहज वातावरणमा शिक्षा आर्जन गर्ने उपयुक्त अवसर उपलव्ध गराउनुपर्ने अहिलेको आवश्यकता रहेको छ । नेपाल सरकारले गुणस्तरीय शैक्षिक विकासका लागि गरिरहेका कार्यहरुको सफलताका लागि सबै सरोकारवालाहरु प्रतिवद्ध भई लाग्नु पर्दछ । सुखी र समृद्ध नेपाल हामी सबैको चाहना भएकाले यस सदिच्छालाई साकार पार्नु हामी सबैको कर्तव्य एवं दायित्व
हो । आज शिक्षा दिवस मनाइरहेको यस महत्वपूर्ण अवसरमा पूर्ण रुपमा सुखी, समृद्ध, समुन्नत र विशिष्ट पहिचान कायम गर्न सक्षम नेपाल निर्माण अभियानमा आ–आफ्नो क्षेत्रबाट सक्दो भूमिका निर्वाहका लागि म सम्वद्ध सबैलाई आव्हान गर्न चाहन्छु ।
आज हाम्रासामू रहेको एउटा चुनौती भनेको शिक्षाआर्जन गर्न विदेशमै जान रमाउने र हासिल भएको सीप, दक्षता र अनुभवको उपयोग पनि विदेशमै समर्पित गर्ने प्रवृत्ति युवावर्गको एउटा पंक्तिमा देखिनु हो । यो समस्याको दीर्घकालीनरुपमा निवारण गर्नेतर्फ शिक्षाक्षेत्रका सरोकारवाला र नीतिनिर्माताहरुले समयमै सचेत हुनुपर्दछ । श्रम र बौद्धिकता पलायन हुने प्रवृत्तिलाई रोकी सबैलाई सामाजिक आर्थिक विकासमा सहभागी गराउने अवस्था निर्माण गर्न प्रभावकारी कार्ययोजनासहित अघि बढ्नु हाम्रो महत्वपूर्ण दायित्व हुनआएको छ ।
अन्तमा, अथक परिश्रम, लगनशीलता, धैर्यता, उच्च शिक्षाप्रतिको प्रतिवद्धतास्वरुप आफ्नो प्रतिभामा सर्वोत्कृष्टता हासिल गरी विभिन्न पदक, विभूषण तथा प्रशंसापत्र प्राप्त गर्न सफल नवप्रतिभावान् छात्रछात्रा र अनुसन्धानको उच्च विद्यावारिधि तह पूरा गर्न सक्षम अनुसन्धाताहरुलाई पुनः एकपटक बधाई ज्ञापन गर्दछु । तपाइँहरुको विशिष्ट उच्च तहको ज्ञान, सिप र कलाकौशल देश विकासमा फलदायी हुन सकोस् भन्ने शुभेच्छासहित ३८ औँ शिक्षा दिवस २०७४ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको पूर्ण सफलताको कामना गर्दछु ।
धन्यवाद ।
२०७४ साल भाद्र २३ गते शुक्रबार ।