राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ को शुभकामना सन्देश
राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका संघर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै‚ मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं आन्दोलनहरूलाई मार्गदर्शन गर्ने अग्रजहरूप्रति हार्दिक सम्मान एवम् श्रद्धा प्रकट गर्दछु ।
नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको छ । वि.सं. २००७ सालमा जहानिया निरङ्कुश शासनविरूद्ध जनताको संघर्षले आजकै दिन विजय हासिल गरेको थियो । जनताको एकतावद्ध सामर्थ्यले जस्तोसुकै निरङ्कुशतालाई पराजित गरी मानवअधिकार तथा राजनैतिक स्वतन्त्रता बहाल गर्न सक्छ भन्ने यथार्थलाई प्रजातन्त्र दिवसले सदैव स्मरण गराउँछ ।
प्रजातन्त्र दिवसको पृष्ठभूमिमा २००७ सालभन्दा अघि भएका आन्दोलनहरूको भूमिका अभिन्न रूपले जोडिएको छ । वि.सं. १९९७ मा प्रजापरिषदको अगुवाईमा भएको आन्दोलनको क्रममा महान सहिदहरू गंगालाल श्रेष्ठ‚ धर्मभक्त माथेमा‚ शुक्रराज शास्त्री र दशरथ चन्दको सहादत भयो । उहाँहरूको उच्च बलिदानले वर्तमान समयसम्मका हाम्रा राजनीतिक एवं सामाजिक सुधारका आन्दोलनहरूलाई प्रेरणा दिएको छ भने भविष्यमा पनि उहाँहरूको सहादतले हामीलाई मार्गदर्शन गरिरहने छ । यसकारण प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्व स्थायी बनाउनुका साथै सहिदहरूको अमर गाथा पनि सदैव स्मरण गराउँछ ।
आज हामीले हासिल गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाट नै निर्माण भएको हो । तसर्थ‚ वर्तमान शासन व्यवस्थाले दशकौँदेखि व्यक्त हुँदै आएको सहिदको सपना एवं जनताको आकांक्षालाई मूर्त रूप दिन सक्नु पर्दछ । यसका लागि हामीले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनु पर्दछ । जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुन सक्दछ ।
अन्तमा, नेपालको संविधानप्रति प्रतिवद्ध रहँदै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकांक्षा साकार बनाउन हामी सबैमा प्रेरणा मिल्ने विश्वास सहित प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०७९ फागुन ७ गते आइतबार ।