सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल संस्कृत विश्वविद्यालय‚ आयुर्वेद शिक्षण भवनको समुद्‍घाटन समारोहमा गर्नुभएको सम्बोधन

माननीय सूचना तथा सञ्चार मन्त्री‚

लुम्बिनी प्रदेशका माननीय मन्त्री,

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति‚

तुल्सीपुर तथा घोराही उपमहानगरपालिकाका प्रमुख‚ उप प्रमुख तथा स्थानीय जनप्रतिनिधहरू‚

विश्वविद्यालयका प्राध्यापकहरू‚

राष्ट्रसेवक कर्मचारीहरू,

सञ्चारकर्मीहरू‚

भद्र महिला सज्जनवृन्द ।

नेपालको सुन्दर उपत्यका दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा उपस्थित भई आयुर्वेद शिक्षण भवनको उद्‍घाटन र त्यसपछि आयोजित यस कार्यक्रमलाई सम्बोधन गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । दाङ उपत्यकाका अनेक गौरवपूर्ण परिचयहरू छन् । नेपालकै ठूलो उपत्यकामध्ये एक हुनुका साथै पछिल्ला केहि अनुसन्धानले प्रागऐतिहासिक कालमा मानव सभ्यताको विकास भएको स्थानका रूपमा पनि दाङको नयाँ चिनारी निर्माण भइरहेको छ । यसै स्थानमा नेपाल संस्कृत विश्वविद्यालय स्थापना भएबाट संस्कृत भाषा, वाङमय र पूर्वीय सभ्यताको अध्ययनमा समेत अझ नयाँ आयामहरू थप्दै लैजान सकिन्छ ।

यस अवसरमा म नेपाली संस्कृति र नेपाली सभ्यताको सुगन्धलाई देश-देशान्तरसम्म फैलाउने अनेकौँ विभूति र साधकहरूलाई श्रद्धापूर्वक स्मरण गर्दछु । त्यसैगरी, नेपाल संस्कृत विश्वविद्यालयको स्थापनाका लागि अथक परिश्रम गर्नुहुने योगी नरहरिनाथ लगायतका सबै अभियन्ता, भूमिदाता, चन्दादाता र श्रमदाता एवं सबै संस्कृत-प्रेमीको योगदान स्मरण गर्दछु ।

संस्कृत भाषा र साहित्यमा मानिसभित्रको आन्तरिक क्षमतालाई विकसित र प्रकाशित तुल्याउने क्षमता छ । यसबाट जीवन र जगतलाई हेर्ने, विश्लेषण गर्ने र त्यसप्रतिको धारणा निर्माण गर्ने रचनात्मक दृष्टिकोणको विकास हुन्छ भन्ने कुरामा म विश्वस्त छु । जननेता मदन भण्डारी स्वयम् पनि संस्कृत क्षेत्रकै उत्पादन हुनुहुन्थ्यो, तसर्थ संस्कृत क्षेत्रसँग मेरो व्यक्तिगत र भावनात्मक सम्बन्ध छ । संस्कृत वाङ्मयको गहन अध्ययन गरेको हुनाले नै जननेता मदन भण्डारीमा सिर्जनात्मक क्षमता, उच्च नैतिकता, गहन संस्कृतिबोध र सच्चा राष्ट्रप्रेमजस्ता विशेष गुणहरू विद्यमान थिए । उहाँ आफ्नो जीवनकालमा धेरै पटक दाङ आउनु भएको र यहाँका सामाजिक एवम् प्राकृतिक विशेषताहरूको वर्णन गर्नुभएको प्रसङ्ग अहिले स्मरण भइरहेको छ ।

मैले बुझेअनुसार, हाम्रो प्राचीन र मध्यकालीन समाजका विविध विषयमा जानकारी दिने हजारौँ गहन र दुर्लभ ग्रन्थहरू संस्कृत भाषामा लेखिएका छन् । संसारभरका अन्वेषकहरूका लागि यी ग्रन्थहरू ज्यादै उपयोगी छन् । हिन्दु मात्र हैन, बौद्ध र जैन साहित्यका प्रशस्त ग्रन्थहरू पनि संस्कृत भाषामा छन् । संस्कृत भाषा र यसको समृद्ध साहित्यका माध्यमले हाम्रा पुर्खाहरूको अमूल्य चिन्तन, विवेक, रचनात्मक सिर्जना र वैचारिक प्रज्ञाको अभिव्यञ्जना भएको छ । तसर्थ ज्ञानको यो प्रवाहलाई संरक्षित, सम्बर्द्धित र विकसित तुल्याउनु हाम्रो कर्तव्य हो । नेपाल संस्कृत विश्वविद्यालयले यसका लागि प्रयत्न गरिरहेको कुरामा म विश्वस्त छु, र यी प्रयासलाई अझ उचाइमा पुर्याउन आवश्यक छ भन्ने मलाई लाग्दछ ।

आज उद्घाटन गरिएको आयुर्वेद शिक्षण भवन नेपाल संस्कृत विश्वविद्यालयका लागि ठूलो उपलब्धिको विषय हो । यस भवनको उपयोगबाट आयुर्वेदका सयौं स्नातकहरू उत्पादन हुनेछन् र तिनबाट राष्ट्रको विकास एवम् समृद्धिको यात्रामा योगदान पुग्नेछ ।

पूर्वीय वाङमयमा आयुर्वेदलाई उपवेद मानिएको छ । त्यसैले, आयुर्वेद हाम्रै माटोको उपज हो र अहिले पनि नेपाली समाजमा आयुर्वेदका सयौँ विज्ञहरू परम्परागत रूपमै उपलब्ध छन् । नेपालका आदिवासी समुदायमा समेत आयुर्वेद र जडिबुटीका अनेकौँ विशेषज्ञहरू रहेका छन् । हाम्रो सभ्यताबाट सिर्जना भएको ज्ञानलाई अझ विकास गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न यस आयुर्वेद शिक्षण भवनले ठूलो योगदान गर्नेछ भन्ने मलाई लागेको छ ।

कोरोना महामारीपछि विश्वमा नै प्राकृतिक जीवनशैली एवम् आयुर्वेदप्रतिको विश्वास र आकर्षणमा अझ वृद्धि भएको छ । आयुर्वेद अब पूर्वीय सभ्यताको मात्र होइन, संसारकै साझा सम्पत्ति बनिसकेको छ । हाम्रा मौलिक स्वास्थ्य पद्धतिका रूपमा रहेका आयुर्वेद, योग, प्राणायाम, ध्यान र प्राकृतिक चिकित्साका साथै हाम्रा जनजातीय समुदायमा पाइने शारीरिक एवम् मानसिक स्वास्थ्यसँग सम्बन्धित तर लोप हुन लागेका अनेकौँ उपचार पद्धति र ज्ञानको खोजी, अनुसन्धान तथा संरक्षणका लागि नेपाल संस्कृत विश्वविद्यालय क्रियाशील रहनु आवश्यक छ । अहिलेको व्यस्त जीवनमा जीवनशैली व्यवस्थापनका निम्ति हाम्रा पूर्वीय महर्षिहरूले बताएका विधि र पद्धतिहरू निकै महत्त्वपूर्ण साबित हुँदै गएका छन् । तिनको यथोचित प्रचारप्रसार गरी फाइदा लिन सक्नुपर्छ । वास्तवमा जीवन आफैंमा एउटा कला हो र यसलाई ढङ्ग पुर्याएर जिउन जान्नुपर्छ । हाम्रा महर्षिहरूले सिकाएका अनेकौँ कुराहरू यही जीवन कलाकै व्यवस्थापनका विषय हुन् ।

संस्कृत विश्वविद्यालय नेपालको परम्परागत संस्कृति, कला, इतिहास र मूल्यमान्यताको उत्तराधिकारसम्पन्न संस्था हो । तसर्थ संस्कृत विश्वविद्यालयले विविधताको सम्मानसहित नेपाली समाजको बौद्धिक नेतृत्व गर्दै भावी पुस्तालाई आफ्नो मूल्य र पहिचानप्रति जागरुक तुल्याउन सक्नु पर्दछ । हाम्रा ऋषिमुनिहरूले हामीलाई नासोका रूपमा सुम्पेका आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, प्राचीन विधिशास्त्र, वैदिक कृषि, वास्तुशास्त्र र स्थापत्य शास्त्र जस्ता प्रयोगपरक क्षेत्रहरूलाई आधुनिक तरिकाले पठनपाठन गराउने दिशामा संस्कृत विश्वविद्यालयले पहल गर्नु आवश्यक छ ।

नेपाल संस्कृत विश्वविद्यालय अचल सम्पत्तिका दृष्टिले अत्यन्त समृद्ध भए पनि सो सम्पत्तिलाई विश्वविद्यालयको विकास र विस्तारमा सदुपयोग गर्न सकिएको छैन । तसर्थ चल–अचल सम्पत्तिको संरक्षण र सम्बर्द्धन गर्दै त्यसको अधिकतम परिचालन गरी विश्वविद्यालय आर्थिक रूपमा आत्मनिर्भर बन्ने प्रयत्न गर्नुपर्दछ । यसका लागि नेपाल सरकारका तर्फबाट आवश्यक सहयोग प्राप्त हुनेछ भन्ने मैले विश्वास लिएको छु ।

वर्तमान समयमा हामी  नेपालको राजनीतिक, आर्थिक, सामाजिक र नैतिक पुनर्निर्माण गर्दै अझ यी सबैको समष्टिरूप सांस्कृतिक पुनर्निर्माणको सङ्घारमा उभिएका छौँ । हामीले हाम्रो पहिचान, स्वाभिमान, सम्मान र निजत्वको खोजी गर्नुपर्ने भएको छ । हाम्रो परिकल्पना केवल आर्थिक समृद्धि र भौतिक सुखसँग मात्र सम्बन्धित छैन; सांस्कृतिक, नैतिक र सभ्यतागत उच्चतासँग पनि सम्बन्धित छ । त्यसैले मलाई लाग्छ, हामी अहिले सांस्कृतिक पुनरुत्थानको महान् यात्रामा गतिशील छौँ । मैले यसलाई नेपाली सभ्यताको पुनर्जागरण भन्ने नाम दिएको छु ।

विश्वका हरेक देशमा राष्ट्रिय पुनर्जागरणको यात्रालाई त्यहाँका विश्वविद्यालय एवम् बौद्धिक संस्थाहरूले नेतृत्व दिएका र गन्तव्यमा पुर्याएका उदाहरणहरू पाइन्छन् । नेपालका सन्दर्भमा पनि राष्ट्रिय पुनर्निर्माणको गुरुतर अभियानको नेतृत्व हाम्रो ज्ञानविज्ञान र चेतनाको प्रतिनिधिका रूपमा रहेका विश्वविद्यालय र प्राज्ञिक संस्थाहरूले लिनुपर्छ । त्यसमा पनि नेपाली संस्कृति र नेपाली चेतनाको स्वाभाविक उत्तराधिकार बोकेको नेपाल संस्कृत विश्वविद्यालयले सांस्कृतिक पुनरुत्थान र पुनर्निर्माणको यो यात्रामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ भन्ने मेरो विश्वास छ ।

नेपाल सरकारले जारी गरेको राष्ट्रिय शिक्षा नीति–२०७६ मा नेपाललाई हिन्दू, बौद्ध लगायत प्राचीन दर्शन, सभ्यता, संस्कृति लगायतको केन्द्रबिन्दु बनाई पूर्वीय दर्शन, पूर्वीय चिन्तन, मौलिक दर्शन एवम् परम्परा, आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, मानविकी, समाजशास्त्र, मानवशास्त्र, जैविक विविधता, पर्यटन, जडिबुटी लगायत सम्पदामा आधारित अध्ययन तथा अनुसन्धानको व्यवस्था मिलाउने कुरालाई महत्त्व दिइएको छ । मलाई लाग्छ, नेपाल संस्कृत विश्वविद्यालयले सरकारको यो सरोकारलाई सम्बोधन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।

अन्त्यमा, आज यस्तो महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेर नेपाल संस्कृत विश्वविद्यालय र यसका गतिविधिसँग अझ नजिकबाट परिचित हुने अवसर मिलाउनुभएकोमा नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारी एवम् विश्वविद्यालय परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

आज योगसँग सम्बन्धित कला तथा सुन्दर नृत्य प्रस्तुत गर्ने विद्यार्थी भाइबहिनीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

उपस्थित सबैमा हार्दिक धन्यवाद सहित सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

संस्कृत भाषा र साहित्यको जय होस् ।

धन्यवाद  !

२०७९ फाल्गुण ३ गते ।

बेलझुण्डी‚ दाङ