प्रदेश १ का माननीय मुख्यमन्त्री,
साल्पा सिलिछो गाउँपालिका प्रमुख, उप प्रमुख तथा स्थानीय जनप्रतिनिधिहरू,
राष्ट्रसेवकहरू‚
सञ्चारकर्मीहरू‚
भद्र महिला तथा सज्जनवृन्द ।
योगमाया स्मृति प्रतिष्ठान भोजपुरद्वारा आयोजित योगमायाको कर्ममूमि‚ साधनाभूमि तथा समाधिस्थलको रूपमा रहेका मजुवाबेंसी तथा गौडेनीको अवलोकनका साथै योगमायाको प्रतिमा अनावरण कार्यक्रममा सहभागी भई तपाईँहरूसँग साक्षात्कार गर्ने अवसर प्राप्त भएकोमा म अत्यन्तै हर्षित भएको छु । यो सुअवसर प्रदान गरेकोमा म योगमाया स्मृति प्रतिष्ठानलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
भौतिक पूर्वाधार विकासका हिसाबले भोजपुर जिल्ला पछाडि परेको भएतापनि इतिहासदेखि वर्तमानसम्म नेपालको राजनीतिक‚ सामाजिक‚ सांस्कृतिक र शैक्षिक जागरणको लागि यो जिल्लाले खेलेको भूमिका अग्रणी रहेको छ ।
नेपाली भाषा र साहित्यको विकास‚ सामाजिक–सांस्कृतिक रूपान्तरण तथा प्रजातन्त्रको स्थापनाका लागि भएका आन्दोलनहरूमा यस जिल्लाका अगुवाहरूले महत्वपूर्ण भूमिका खेल्नुभएको छ । भोजपुरको यस पवित्र भूमिले सम्पूर्ण नेपालका लागि गौरव गर्न लायक व्यक्तित्वहरू दिएको छ भन्ने मलाई लाग्दछ ।
नेपालमा राजनीतिक आन्दोलन आरम्भ हुनुपूर्व सुरु भएका धार्मिक, सामाजिक र सांस्कृतिक सुधार तथा जागरण अभियानहरू मूलत: नागरिक अधिकार र राजनीतिक आन्दोलनकै प्रारम्भिक रूप थिए । उक्त सुधार तथा जागरण अभियानमा नेपाली महिलाहरूको सक्रिय सहभागिता रहन्थ्यो ।
भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित नेपालेडाँडा, सिम्लेमा जन्मनु भएकी योगमाया न्यौपानेको नेतृत्वमा तत्कालीन राणा शासकका विरुद्ध भएको ऐतिहासिक विद्रोह नेपालको प्रजातान्त्रिक आन्दोलन तथा महिला आन्दोलनको आधारभूमि थियो भन्न सकिन्छ ।
जहानिया राणाकालीन युगमा सामाजिक असमानता‚ आर्थिक शोषण एवं समाजमा व्याप्त अन्धविश्वासका विरुद्ध आवाज उठाई समाज परिवर्तनका लागि सांस्कृतिक आन्दोलनको गति तीब्र पार्न योगमाया न्यौपानेले अद्वितीय योगदान गर्नुभएको थियो ।
राजनीतिक दलहरू समेत खुल्न नसकेको त्यो समयमा योगमायाको नेतृत्वमा सत्य धर्म भिक्षा अभियानका नाममा गरिएको सामाजिक आन्दोलनलाई तत्कालिन शासकहरूबाट गरिएको उपेक्षाको विरोधमा गरिएको २४० जना अनुयायीहरूसहित अग्निदाहको प्रयास असफल पारिएपछि १९९८ साल असार २२ गते आफ्ना ६८ जना अनुयायी समेत लिएर योगमायाले अरुण नदीमा जल समाधि लिएको घटना विश्वका लागि समेत नौलो र साहसिक विद्रोहको रूपमा रहेको छ ।
नेपालको इतिहासमा गुमनाम बनाइएको योगमायाको उक्त विद्रोहलाई उजागर गर्दै नेपाली समाजको रुपान्तरणमा योगमायाले पुर्याउनु भएको योगदानलाई चिनाउने बार्बरा निम्री अजीज‚ उत्तम प्रसाद पन्त‚ मातृका तिम्सिना‚ प्रा.डा. गोविन्दमान सिंह कार्की, लेखनाथ भण्डारी‚ निलम कार्की निहारिका लगायतका अन्वेषक तथा लेखकहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु ।
साथै‚ योगमायाको जन्मस्थल‚ कर्मस्थल‚ साधनास्थल र समाधीस्थलहरूको संरक्षण र सम्बर्द्धन गर्दै यस क्षेत्रलाई योगमाया धामको रूपमा विकास गरी धार्मिक तथा सांस्कृतिक पर्यटकीय क्षेत्रको रूपमा विकासका लागि पहल गर्ने योगमाया स्मृति प्रतिष्ठानलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । योगमाया स्मृति प्रतिष्ठानको यस पहलमा स्थानीय पालिका‚ प्रदेश १ सरकार र संघीय सरकारको समेत सहयोग र सद्भाव रहेको पाउँदा मलाई खुसी लागेको छ ।
जैविक विविधतायुक्त यस क्षेत्रमा औषधीय गुणयुक्त वनस्पति प्रचुर मात्रामा पाइन्छन् । प्रकृतिको अमूल्य वरदानको रूपमा रहेका जडिबुटीको अध्ययन‚ अनुसन्धानका साथै आयुर्वेद, योग, ध्यान तथा वैकल्पिक चिकित्सा प्रणालीको स्थापना र सञ्चालन गर्न आवश्यक दक्ष जनशक्ति विकास गर्ने उद्देश्यले योगमाया आयुर्वेद विश्वविद्यालयको स्थापनाका लागि भइरहेको प्रयासलाई थप तीब्र बनाउनु पर्ने खाँचो रहेको महसुस गरेको छु ।
अन्तमा‚ योगमाया स्मृति प्रतिष्ठानको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । यस कार्यक्रममा उपस्थित तपाईंहरू सबैको सुस्वास्थ्य, समृद्धि एवं प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु
धन्यवाद ।
२०७९ माघ २५ गते बुधबार ।
गौडेनी‚ भोजपुर ।