माघे संक्रान्ति एवम् माघी पर्वको शुभकामना सन्देश
माघे संक्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु ।
माघे संक्रान्ति वा मकर संक्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले आ–आफ्नै ढङ्गले हर्षोल्लासपूर्वक मनाउने गर्दछन् । विशेष गरी‚ थारू समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा धुमधामसँग मनाइन्छ भने तराईबासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वको रूपमा मनाउने
गर्दछन् । आजको दिन पवित्र नदी एवम् त्रिवेणीहरूमा स्नान गरी मन्दिरमा पूजा अर्चना गरेपश्चात् घिउ, चाकु, तरुल, सेलरोटी, तिलको लड्डु, ढिक्री र खिचडी जस्ता परिकारहरू खाई रमाइलोसँग यो पर्व मनाउने प्रचलन रहिआएको छ ।
विशिष्ट मौलिक सांस्कृतिक सम्पदाको रूपमा रहेका यस्ता पर्वहरूले हाम्रो मुलुकलाई विश्वसामु परिचित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । हाम्रा पर्वहरूले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्याएका छन् भन्ने मलाई लाग्दछ ।
बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वहरूले सम्पूर्ण नेपालीहरूको बीचमा बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने विश्वास लिएको छु ।
अन्तमा‚ माघे संक्रान्ति एवम् माघी पर्वबाट प्रकृति र संस्कृतिको संरक्षण गर्दै सभ्य‚ सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।
धन्यवाद ।
२०७९ माघ १ गते आइतबार ।