७४औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्देश
७४औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
संयुक्त राष्ट्रसंघको महासभाबाट मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मृतिमा प्रत्येक वर्ष डिसेम्बर १० का दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्ष “सबैका लागि सम्मान, स्वतन्त्रता र न्याय” भन्ने मूल विषयसहित नेपालमा पनि विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइँदैछ ।
मानवअधिकार र लोकतन्त्रका आधारभूत मूल्य र मान्यताहरू कुनै भूगोल विशेषमा मात्र सिमित नभई विश्वव्यापी हुन्छन् भन्ने अवधारणालाई मानवअधिकारको विश्वव्यापी घोषणापत्रले स्थापित गरेको छ । त्यसै आधारमा मानवीय मूल्यहरूको विकास भई न्यायपूर्ण‚ स्वतन्त्र र स्वस्थ प्रतिस्पर्धामा आधारित सामाजिक प्रणालीभित्र हरेक व्यक्तिले आफ्ना लागि अवसर र उन्नतिको बाटो तय गर्न सक्दछ ।
नेपालको संविधानले सुनिश्चित गरेका मौलिक अधिकारहरू मानवअधिकारका व्यापकतम अवधारणामा आधारित
छन् । अर्थात्‚ मानवअधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लेख भएका विषयहरूलाई नेपालको संविधानले अझ विस्तार र विकास गर्न योगदान गरेको छ । हाम्रो मुलुक मानवअधिकारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताको पक्ष राष्ट्र समेत भएकाले मानवअधिकारको संरक्षण‚ सम्बर्द्धन र परिपूर्तिसम्बन्धी दायित्वप्रति सदैव प्रतिबद्ध रहिआएको छ । यसैको फलस्वरुप नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यका रूपमा समेत निर्वाचित भएको छ । संवैधानिक उत्तरदायित्व एवं विश्व समुदायको सम्मानित राष्ट्रका रूपमा मानवअधिकारसम्बन्धी दायित्व निर्वाह गर्न संविधानले व्यवस्था गरेका राष्ट्रिय मानवअधिकार आयोग सहित विभिन्न विषयगत संवैधानिक आयोगहरू समेत क्रियाशील रहेका छन् ।
संविधान प्रदत्त अधिकारहरूको उपभोग र कर्तव्यहरूको पालनाका लागि राज्यका निकायहरूको भूमिका मात्र पर्याप्त हुँदैन । यसका लागि समाजका हरेक क्षेत्र र पक्षहरू जिम्मेवार र जवाफदेही हुन आवश्यक छ । संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह र सामाजिक संघसंस्थाहरू तथा निजी क्षेत्रको सामुहिक सक्रियताबाट सिमान्तकृत र बन्चितीकरणमा परेका भूगोल तथा समुदायहरूलाई मानवअधिकारको प्रत्याभूति गराउन सकेमा मात्र आजको दिवसले सार्थकता पाउँछ भन्ने मलाई लाग्दछ ।
व्यक्तिगत स्वन्त्रता र लोकतान्त्रिक शासन प्रणालीलाई सारभूत बनाउने मानवअधिकारको महत्वपूर्ण पक्ष आर्थिक‚ सामाजिक तथा सांस्कृतिक अधिकार हो । आजको विश्वमा न्यायपूर्ण र समतामूलक समाजको निर्माण गर्न राष्ट्रहरूको ध्यान केन्द्रित भइरहेको सन्दर्भमा नेपालले पनि संविधानको मार्गदर्शनमा आर्थिक‚ सामाजिक तथा सांस्कृतिक अधिकारको पूर्ण कार्यान्वयनका लागि अग्रसरता लिनु पर्दछ ।
अन्तमा, यस दिवसले सबै पक्ष र निकायलाई मानवअधिकारको मर्म तथा भावना आत्मसात् गर्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।
धन्यवाद ।
२०७९ मङ्सिर २४ गते शनिबार ।