कुमारी इन्द्रजात्रा पर्व, २०७९ को शुभकामना सन्देश
कुमारी इन्द्रजात्रा पर्व, २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
यो पर्व देवराज इन्द्रको पूजा अर्चनाका साथै जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरी धुमधामका साथ मनाउने प्रचलन रहेको छ । काठमाडौँको वसन्तपुरमा भाद्र शुक्ल द्वादशीको दिन लिङ्गो ठड्याएर इन्द्र जात्रा शुभारम्भ हुन्छ भने आश्विन कृष्ण चौथीका दिन लिङ्गो ढालेर जात्रा समापन गर्ने चलन रहेको छ । पर्याप्त वर्षा र शीतका कारण फलेको राम्रो अन्नबालीका लागि सहकालका देवता इन्द्रप्रति कृज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई प्रतिविम्वित गर्दछ । शताब्दियौंदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले प्राचीन सभ्यता एवम् संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास मैले लिएको छु ।
मूलत: काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानहरूमा मनाइने कुमारी इन्द्रजात्रा जस्ता मौलिक सांस्कृतिक तथा ऐतिहासिक पर्वहरूले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीहरूको बीचमा आपसी सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।
अन्तमा‚ कुमारी इन्द्रजात्रा पर्वले जल, जमिन र जङ्गल लगायतका प्राकृतिक स्रोतहरूको दिगो उपयोगका साथै अमूल्य ऐतिहासिक एवं सांस्कृतिक सम्पदाहरूको संरक्षण र प्रवर्द्धन गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ्न हामी सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछु ।
धन्यवाद ।
२०७९ भदौ २४ गते शुक्रबार ।