गौरा पर्व, २०७९ को शुभकामना सन्देश
गौरा पर्व, २०७९ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म विशेषगरी नेपालको मध्य तथा सुदूरपश्चिम क्षेत्रमा मनाइने गौरा पर्व एक महत्त्वपूर्ण सांस्कृतिक चाड हो । यस पर्वको अवसरमा शिव र पार्वती अर्थात् गौराको पूजा आराधना गरी व्रत बस्नाले मनोकांक्षा पूरा हुने, पारिवारिक सुख‚ शान्ति र सौभाग्य प्राप्त हुने जनविश्वास रहेको छ ।
गौरा पर्व मनाउने सन्दर्भमा परदेश गएकाहरू घर फर्कने‚ विवाहिता महिलाहरू माइत जाने‚ गहुँ‚ केराउ, गहत लगायत पाँच प्रकारका अन्नहरूको मिश्रणबाट बनेको ‘बिरुडा’ लाई प्रसादको रूपमा ग्रहण गरी देउडा‚ धमारी र ढुस्को खेल्दै रमाइलो गर्ने प्रचलन रहेको छ ।
यस पर्वले पारिवारिक तथा सामाजिक जीवनमा आपसी प्रेम‚ विश्वास र सद्भावलाई प्रगाढ बनाउनुका साथै विविध जातजाति¸ भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका सम्पूर्ण नेपालीहरू बीचको भावनात्मक एकतालाई बलियो बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ भन्ने मलाई लागेको छ ।
गौरा पर्वको यस अवसरमा‚ नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै समाजमा विद्यमान अन्धविश्वास‚ विभेद‚ विकृति एवं विसंगतिहरूलाई अन्त्य गरी सभ्य‚ सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।
धन्यवाद ।
२०७९ भदौ १८ गते शनिबार ।