हरितालिका (तीज), २०७९ को शुभकामना सन्देश
नेपाली महिलाहरूको महान् पर्व हरितालिका (तीज)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति र सौभाग्यको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
हिन्दू धर्मावलम्बी महिलाहरूले भाद्र शुक्ल द्वितीया तिथिदेखि पञ्चमीसम्म विभिन्न व्रत, अनुष्ठान एवं मनोरञ्जनसहित मनाउने यस पर्वको उच्च धार्मिक तथा सांस्कृतिक महत्त्व रही आएको पाइन्छ । परापूर्व कालदेखि अवलम्बन गरिएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बको रूपमा पनि तीज पर्वको विशिष्ट स्थान छ ।
नारी सामर्थ्यलाई अभिव्यक्त गर्ने तीजले सामाजिक एकता, महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न समेत अवसर निर्माण गर्दै आएको छ । तसर्थ, तीज पर्वलाई महिला जागरणको सन्देश फैलाउने सामाजिक मञ्चका रूपमा ग्रहण गर्न सकिन्छ । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव‚ हिंसा एवम् सामाजिक कुरीतिहरूको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न तीजले हामी सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने मैले अपेक्षा लिएको छु ।
आदर्शमय सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवन शैली अपनाउन तथा देशको कला-संस्कृति जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न हाम्रा मौलिक चाडपर्वको गरिमा उच्च राख्नु अति आवश्यक रहेको छ । तीज जस्ता पर्वहरू मनाउने सन्दर्भमा भड्किलोपन र खर्चिलोपन बढ्दै जानु चिन्ताको विषय बन्न गएको पक्षलाई हामी सबैले मनन गर्नु पर्दछ । अत: हाम्रा चाडपर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक पक्षको समयानुकूल जगेर्ना गर्ने तथा विकृति र विसङ्गतिहरू न्यून गर्दै लैजाने कार्यमा क्रियाशील रहन सम्बद्ध सबैमा म हार्दिक आव्हान गर्दछु ।
अन्तमा, हरितालिका (तीज) पर्वले समाजका हरेक क्षेत्रमा महिलाहरूको समान पहुँचलाई अझ सशक्त रूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास सहित पुन: शुभकामना प्रकट गर्दछु ।
धन्यवाद ।
२०७८ भदौ १४ गते मंगलवार ।