नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति डा.जगमान गुरूङ,
महेश सन्यास आश्रमका पीठाधीश श्री रमानन्द गिरी,
श्रीयन्त्र पुस्तकका लेखक वरिष्ठ इन्जिनियर शंकरनाथ रिमाल,
प्रवुद्ध समुदाय,
भद्रमहिला तथा सज्जनवृन्द !
नेपालको राष्ट्रिय झण्डाका वर्तमान स्वरूपको डिजाइनर वरिष्ठ इन्जिनियर शंकरनाथ रिमालको अथक प्रयासबाट तयार गरिएको ‘श्रीयन्त्र’ पुस्तकका बारेमा चर्चा हुने यस कार्यक्रममा तपाईँहरूसँग अन्तरक्रिया गर्न पाउँदा मलाई खुसी लागेको छ । आजको यस पुस्तकका लेखक श्री रिमाललाई हार्दिक बधाई दिँदै उहाँको सुस्वास्थ्य र दीर्घजीवनको शुभेच्छा प्रकट गर्दछु । साथै, यस पुस्तकको प्रकाशिका तथा लेखककी धर्मपत्नी श्रीमती शशी रिमाललाई धन्यवाद भन्न चाहन्छु ।
हाम्रो मुलुकका राष्ट्रिय महत्वका सम्पदाहरूको वास्तु डिजाइनर श्री रिमालको गहन अनुसन्धानको फलस्वरूप सिर्जना भएको यो कृति समाजका निम्ति महत्वपूर्ण दस्तावेज हो । यस उपर बौद्धिक समुदायमा हुने छलफल र अन्तरक्रियाले लेखकलाई थप प्रेरणा मिल्नेछ भन्ने ठानेको छु । पुस्तकाकार रूपमा श्रीयन्त्रको व्याख्या गणितीय रूपमा प्रस्तुत गर्नुभएको यो पुस्तक अध्ययन अनुसन्धानकर्ता एवं जिज्ञासुहरूका लागि सहयोगी सिद्ध हुनेछ । लेखक इन्जिनियर रिमालले आफ्नो पुस्तकमा प्राचीन धर्म र आधुनिक इन्जिनियरिङको संयोजन गर्नुभएको मैले पाएको छु ।
हिन्दुहरूका आराध्यदेव पशुपतिनाथ, प्रसिद्ध तलेजु भवानीको मन्दिरजस्ता धार्मिक तथा साँस्कृतिक महत्वका सम्पदाहरूमा श्रीयन्त्रद्वारा विभूषित गर्ने परम्परा भएबाट श्रीयन्त्र यस क्षेत्रको एउटा सांस्कृतिक प्रतीकका रूपमा रहेको कुरा महसुस गर्न सकिन्छ । महत्वपूर्ण विषयहरूसँग जोडिएका हाम्रा सम्पदाहरू निर्माणको डिजाइनमा नेपाली संस्कृति र संस्कारको परिचय विश्वस्तरमा प्रवर्द्धन गर्न रिमालजस्ता विद्वान व्यक्तित्व लागि पर्नुले मौलिक वास्तुकलाको महत्व संसारभर उजागर गर्न मद्दत पुग्नेछ ।
विश्वविद्यालयमा ईन्जीनियरिङ्ग विषयका विद्यार्थी, प्राध्यापक तथा अनुसन्धानकर्ताहरूका लागि उपयोगी सामग्री हुनसक्ने यो पुस्तक साँच्चिनै ठूलो मेहनत र लगावबाट तयार पारिएको छ भन्ने मलाई लागेको छ । हाम्रा सांस्कृतिक धरोहरहरू वास्तुकलाका ज्वलन्त नमुना हुन् । यस पुस्तकमा समेटिएका पक्षहरू पूर्वीय दर्शनका प्रत्यक्ष प्रमाणको रूपमा रहेका छन् ।
हाम्रो देश अहिले समृद्धिको यात्रामा रहेकाले भौतिक पूर्वाधार विकास गर्दा त्यसमा मौलिकता झल्काउँदै सुदृढ तुल्याउन सम्बन्धित निकायले ध्यान पु¥याउनु पर्दछ । यसबाट एकातिर भौतिक संरचना बलिया हुन्छन् भने अर्कोतिर हाम्रो विशिष्ट पहिचान विस्तारित गर्न सफलता मिल्नेछ । फलस्वरूप जीवनलाई समृद्धितर्फ अग्रसर गराउन समेत थप सहयोग पुग्नेछ भन्ने मलाई लागेको छ ।
अन्तमा, यस्तो वयोवृद्ध उमेरमा पनि जोश जाँगरका साथ पुस्तक तयार पार्नु भएकोमा पुनः बधाई दिँदै भविष्यमा समेत यस किसिमका कीर्तिहरू समाजलाई दिन लेखकलाई सफलता हासिल हुने विश्वास लिएको छु ।
धन्यवाद ।
२०७८ साल वैशाख १० गते शनिबार ।
राष्ट्रपति भवन, महाराजगञ्ज, काठमाडौँ