२६२१ औं महावीर जयन्तीको सन्देश
जैन धर्मका प्रवर्तक महावीरको २६२१ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
सम्पूर्ण मानव जातिको कल्याणका लागि शान्तिको बाटो देखाउनु हुने महावीरको जन्मजयन्ती हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाल लगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीद्वारा विभिन्न कार्यक्रमहरू गरी उत्साहपूर्वक मनाउने गरिन्छ ।
महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग – सत्य, अहिंसा, ब्रह्मचर्य‚ अचौर्य, र अपरिग्रहका सिद्धान्तहरू प्रतिपादन गर्नुभयो र स्वयंले यी सिद्धान्तहरूको पालना समेत गर्नुभयो । उहाँले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नु भयो । यसरी महावीरको जीवनमा अभिव्यक्त विचार र व्यवहारको संगमले मानव जीवनलाई सदैव मार्गदर्शन गरिरहन्छ ।
महावीरले जनकल्याणको लागि गर्नुभएको मार्गदर्शनको परिपालन गर्न सके धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधता बीच आपसी सद्भाव र सहिष्णुता कायम हुनका साथै दिगो शान्ति र अहिंसा प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास लिएको छु ।
अन्तमा, समाजमा विद्यमान अन्धविश्वास‚ विकृति, विसङ्गति एवं विभेदको अन्त्य गर्दै न्यायपूर्ण‚ सभ्य‚ सुसंस्कृत एवं प्रगतिशील समाज निर्माण गर्न महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्नेछ भन्ने विश्वासका साथ पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०७९ बैशाख १ गते बिहीबार ।