माननीय प्रतिनिधि सभाका सदस्यहरू,
माननीय प्रदेशसभाका सदस्यहरू‚
नगर प्रमुख तथा स्थानीय जनप्रतिनिधिहरू,
मन्दिर व्यवस्थापन समितिका पदाधिकारी एवं सदस्यहरू,
राष्ट्रसेवक कर्मचारीहरू‚
सञ्चारकर्मीहरू‚
उपस्थित भद्रमहिला तथा सज्जनवृन्द ।
सांस्कृतिक तथा पुरातात्विक सम्पदाले सम्पन्न नमोबुद्ध नगरपालिकामा पुनर्निर्मित ऐतिहासिक काली मन्दिरको उद्घाटन समारोह आयोजना गरी तपाईँहरूसँग अन्तरक्रिया गर्ने यो अवसरका लागि म सम्पूर्ण नगरपालिका परिवारलाई धन्यवाद दिन चाहान्छु । विश्व शान्तिका प्रवर्तक भगवान बुद्धको नामबाट सुशोभित भएको यस नगरपालिकाले आफ्नो सांस्कृतिक तथा ऐतिहासिक गौरव कायम राख्न पहल गर्दै आएकोमा पनि म सराहना गर्दछु ।
विक्रम संवत् २०७२ सालको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त काली मन्दिरको पुनर्निर्माण गरी संरक्षण तथा संवर्द्धन गर्न नगरपालिकाले देखाएको अग्रसरता प्रशंसनीय छ । भूकम्पले भत्काएका सम्पदाहरू अझ बलियो र स्थायी रूपमा पुनर्निर्माण हुँदा ऐतिहासिक धरोहरहरूको संरक्षण गर्ने हाम्रो राष्ट्रिय आत्मविश्वास पनि अझ बलियो भएको छ ।
स्थानीय तहमा जनताद्वारा छानिएका जनप्रतिनिधिबाट विकासका कार्यहरू सञ्चालन भई जनताका दैनिक आवश्यकताहरूको प्रत्यक्ष सम्बोधन हुनु नै लोकतन्त्रलाई संस्थागत गर्ने सबैभन्दा ठूलो माध्यम हो । यसै कारण, नेपाली जनताको ठूलो त्याग र बलिदानको फलस्वरूप निर्माण भएको वर्तमान संविधानले जनतालाई प्रदान गरिने सेवा र सुविधामा सहज पहुँचको माध्यमबाट आर्थिक–सामाजिक रूपान्तरण हासिल गर्न स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको छ । संविधानको यस भावनालाई आत्मसात गरी प्रत्येक जनप्रतिनिधिले आफूलाई सदैव जनताको सेवामा समर्पित गर्नु पर्दछ । नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा गुणस्तरीय शिक्षा, सामुदायिक विद्यालयका बालबालिकाका लागि दिवा खाजा, पर्यटन तथा कृषि क्षेत्रको उन्नयनमा निरन्तर काम गरिरहेको थाहा पाउँदा मलाई खुसी लागेको छ ।
स्थानीय तहमा भौतिक निर्माण र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दा हामीले प्रकृतिको संरक्षण गरी वातावरण जोगाउने कार्यलाई विशेष महत्व दिनुपर्दछ । हरियाली प्रवर्द्धन गर्ने, पानीका मूलहरू बचाउने एवं जैविक विविधताको रक्षा गर्ने कार्यबाट मात्र हामीले यस सुन्दर धर्तीलाई भावी पुस्ताका लागि समेत सुरक्षित बनाउन सक्दछौं ।
यस अवसरमा म स्थानीय तहका प्रतिनिधिहरूका साथै सम्बद्ध सबै पक्षमा विकाससम्बन्धी नीति‚ कार्यक्रम तथा योजना तर्जुमा गर्दा वातावरण संरक्षणको विषयलाई उच्च प्राथमिकतामा राख्ने सुदृढ संकल्पका लागि विशेष आव्हान गर्न चाहन्छु । यसका साथै नागरिकलाई शिक्षा, स्वास्थ्य, शुद्ध पिउने पानी एवं सरसफाई जस्ता आधारभूत सेवाहरू सरल र सहज रूपमा उपलब्ध गराउने विषय सबैको गम्भीर सरोकार बन्नुपर्छ भन्ने मलाई लागेको छ ।
यस नमोबुद्ध क्षेत्रमा पर्यटन विकासको प्रशस्त सम्भावना रहेको विषय हामी सबैको जानकारीमा छ । छिमेकमा अवस्थित मुलुककै राजधानी काठमाडौँ वा अझ नजिकको धुलिखेललाई गन्तव्य बनाउने पर्यटकको केही संख्यालाई मात्र पनि यहाँ भित्र्याउन सके स्थानीय समुदायको जीवनस्तर माथि उठाउन ठूलो मद्दत पुग्नेछ । दाप्चा र नमोबुद्ध क्षेत्रलाई विश्वसम्पदा सूचीमा सामेल गर्न तपाईंहरूले लामो समयदेखि गरिरहनु भएको प्रयासबाट यहाँको पर्यटनलाई थप बल प्राप्त हुनेछ भन्ने मलाई लागेको छ । विश्वसम्पदा सूचीमा सामेल हुन आवश्यक पूर्वाधारको निर्माणमा तपाईंहरूको प्रयास फलदायी हुने मैले अपेक्षा लिएको छु । यस कार्यमा सफलताका लागि तपाईंहरूलाई मेरो सदैब सहयोग र शुभकामना रहेको छ ।
अन्तमा, यो कार्यक्रम आयोजना गरी सांस्कृतिक धरोहरको संरक्षण तथा संवर्द्धन गर्न अग्रसरता लिने पुरातत्व विभाग, नगरपालिका परिवार एवं स्थानीय जनसमुदाय सहित सबैलाई धन्यवाद दिन चाहन्छु ।
धन्यवाद ।
२०७८ साल चैत्र १६ गते बुधबार
नमोबुद्ध, काभ्रेपलाञ्चोक