फागुपूर्णिमा (होली) पर्व, २०७८ को शुभकामना सन्देश
नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दछु ।
वसन्त ऋतुका अनेक रङ्ग प्रतिविम्बित गर्ने पर्वका रूपमा प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन हिमाली, पहाडी तथा भित्री मधेशका जिल्लाहरूमा र त्यसको भोलिपल्ट तराईका जिल्लाहरूमा विभिन्न रङ तथा अबिर खेल्दै खुशियालीपूर्वक फागुपूर्णिमा (होली) मनाउने परम्परा रहेको छ ।
हाम्रा पौराणिक ग्रन्थहरूमा फागुपूर्णिमा एवं होली पर्वका अनेकौं प्रसङ्गहरू उल्लेख हुनुले यसको प्राचीनता पुष्टि हुन्छ । वैदिक परम्परादेखि नै समाजमा असल र खराब बीच द्वन्द्व चल्दै आएतापनि सत्यको विजय नै अवश्यम्भावी हुने सार्वभौम सिद्धान्तलाई यस पर्वले प्रखर रूपमा अभिव्यक्त गर्दछ । अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुशियालीमा मनाइने सांस्कृतिक पर्व फागुपूर्णिमा (होली) हो । तसर्थ, समाजमा विद्यमान दुष्प्रवृत्तिलाई पराजित गर्दै सत्य र न्यायको पक्षमा अविचलित रूपले क्रियाशील रहन यस पर्वले प्रेरणा प्रदान गर्दछ भन्ने मलाई लाग्दछ ।
होलीमा खेलिने विविध रङ्गहरू जस्तै नेपाली समाज पनि जातीय‚ भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण छ । यही विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सामर्थ्य बनेको छ । सम्पूर्ण नेपाली बीच आपसी प्रेम, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन फागुपूर्णिमा (होली) पर्वले योगदान पुर्याउने विश्वास मैले लिएको छु ।
हाम्रो संस्कृतिका असल पक्षहरूलाई प्रवर्द्धन गर्न पर्वहरूलाई मितव्ययी र विकृतिरहित राख्नुपर्दछ । हरेक पर्वसँग गाँसिएको इतिहास, सभ्यता र पौराणिकताको गहिराई आत्मसात् गर्न सके मात्र हाम्रो अद्वितीय संस्कृतिको मौलिकता जोगाउन सकिन्छ । समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिहरूलाई निर्मूल गर्दै न्यायपूर्ण‚ सभ्य र सुसंस्कृत समाज निर्माण गर्न फागुपूर्णिमा अर्थात् होली पर्वबाट हामी सबैमा प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०७८ चैत ३ गते बिहीबार ।