११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना सन्देश
११२औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च)को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु ।
विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैङ्गिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष आठ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाइन्छ । यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा नेपालले ‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय लक्ष्य तय गरेको छ । यसको अभिप्राय महिलाहरूको आर्थिक, सामाजिक तथा संरचनात्मक रुपान्तरणद्वारा मुलुकको समृद्धि र दिगो विकासतर्फ अग्रसर रहनु हो भन्ने मलाई लाग्दछ ।
नेपाली जनताको दशकौं लामो राजनीतिक आन्दोलनको प्रतिफलस्वरूप महिला सशक्तीकरणको क्षेत्रमा हामीले प्राप्त गरेका उपलब्धीहरू विश्व महिला आन्दोलनकै लागि प्रेरक मानिएको छ । महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न हामीले संविधानमार्फत आधारभूत व्यवस्थाहरू गरी विभिन्न कानुन समेत अभ्यासमा ल्याएका छौँ । फलत: मुलुकका तीनै तहका सरकार, संसद र नीति निर्माणका निकायमा महिलाको नेतृत्वदायी भूमिका सुदृढ भएको छ ।
पछिल्लो समयमा लैङ्गिक समानताका विभिन्न सूचकहरूमा नेपालले प्रगति गर्दै आएको देखिएकाले हाम्रा प्रयासहरू परिणाममुखी हुने चरणमा छन् भन्न सकिन्छ । यसबाट नेपाली महिलाहरूको प्रतिष्ठा क्रमश: अभिवृद्धि हुँदै गएको छ भन्ने मलाई लाग्दछ ।
लैङ्गिक समानताका लागि वर्तमानमा हामीलाई अभिप्रेरित गर्ने एउटा स्रोत हाम्रो प्राचीन परम्परा पनि हो, जहाँ मातृशक्तिको महत्त्व व्यापक रहेको पाइन्छ । समाजको उन्नतिका लागि अत्यावश्यक शिक्षा, शक्ति र आर्थिक स्रोतका अधिष्ठात्री मानिने सरस्वती, दुर्गा र लक्ष्मी नारीशक्ति नै भएबाट यसको पुष्टि हुन आउँछ । वैदिक कालमा गार्गी, मैत्रेयी जस्ता विदुषीहरूको सम्मान त्यत्तिकै उच्च रहेको हामी पाउँछौं । यति हुँदाहुँदै पनि परम्पराकै नाममा अद्यापि कायम रहेका कतिपय अन्धविश्वास र कुप्रथाका कारण महिलामाथि विभेद हुँदै आएको छ‚ जसलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माण गर्न हामी सबैले प्रण गर्नु पर्दछ ।
महिला सशक्तीकरण, सहभागिता र समानताको विषय केवल महिलाको मात्र मुद्दा होइन । यसका लागि महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका आवश्यक रहेकोतर्फ म विशेष जोड दिन चाहन्छु ।
अन्तमा‚ यस दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा‚ विभेद‚ उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चत गर्ने यात्रामा निरन्तर लागिरहन हामी सबैमा थप उर्जा र उत्साह प्राप्त हुन सकोस् भनी शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०७८ फागुन २४ गते मङ्गलबार ।