महाशिवरात्री पर्व, २०७८ को शुभकामना सन्देश
महाशिवरात्री पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, प्रगति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपालभूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ । शिवोत्पत्ति भएको विश्वास गरिने मानसखण्डको भू–भाग, शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल एवं निवासस्थल मानिने पवित्र पाशुपत क्षेत्र नेपालसँग रहनु हाम्रा लागि गौरवको विषय हो । हाम्रो मुलुकका धेरै समुदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिविम्बित भएको पाइन्छ । तसर्थ, आराध्यदेव पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात् शिवस्वरूप मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुहरूका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको छ । नेपाल तपोभूमि वा ज्ञानभूमि कहलिनुको सार्थकता यसबाट सिद्ध हुन्छ ।
वैदिक परम्परामा शिवलाई मूलत: संहारका शक्ति मानिएको भएतापनि शिवशक्तिमा सौम्य तथा रौद्र दुवै स्वरूप समाहित छन्, जसले प्रकृतिको सिर्जनात्मक एवं संहारकारी शक्तिलाई बराबर प्रतिनिधित्व गर्दछन् । सौम्य शक्तिले मानव चेतनामा असल पक्षको बोध गराई त्यसलाई मात्र ग्रहण गर्न उत्प्रेरित गर्ने भएकाले नै ‘सत्यम् शिवम् सुन्दरम्’ प्राचीन लोकोक्तिका रूपमा रहेको छ । रौद्र शक्तिले खराब रोजाईबाट उत्पन्न परिणामलाई दण्डित गर्दछ । यसरी मानव जातिले प्रकृतिसँगको असल सहकार्यबाट मात्र आफ्नो प्रगतिको बाटो रोज्नुपर्छ भन्ने तथ्यलाई हाम्रा अनेक सांस्कृतिक चाडपर्व जस्तै महाशिवरात्रीले पनि बेजोड रूपमा प्रकट गरिरहेको पाइन्छ ।
महाशिवरात्रीको यस पावन अवसरमा हामीले पाशुपत क्षेत्रसहित देशका विभिन्न भागमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाहरूको यथोचित संरक्षण एवं संवर्द्धन गर्न प्रण गर्नु पर्दछ । पाशुपत क्षेत्र लगायत मुलुकका विभिन्न भागमा छरिएर रहेका मूर्त एवं अमूर्त सम्पदाको गहिरो अध्ययन गर्न विश्वविद्यालयहरू, अनुसन्धान संस्था एवं अध्येताहरूले अग्रसरता लिनुपर्दछ । पुर्खाको नासोका रूपमा हामीले पाएका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु हाम्रो दायित्व हो । वागमती सभ्यता विकास भएको तथा काठमाडौँ उपत्यकाको जलाधारको रूपमा रहेको वागमती नदीलाई स्वच्छ र सफा राखिरहनका लागि आजका दिनले सबैलाई प्रेरणा मिल्ने विश्वास लिएको छु ।
आधुनिकताको प्रभावसँगै पर्वहरू मनाउने शैलीमा समेत परिवर्तन भैरहेको पाइन्छ । मौलिकतालाई कायम राख्दै परिवर्तनलाई ग्रहण गर्न र परम्पराका नाममा प्रचलित कतिपय अव्यवहारिक पक्षहरूलाई त्याग गर्न सरकारका सबै निकायहरूका साथै नागरिकको सक्रियता आवश्यक पर्दछ । महाशिवरात्री पर्वले नेपाली समाजलाई प्रगतिको बाटोमा अग्रसर गराउँदै हामी सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी पुन: शुभकामना व्यक्त गर्दछु ।
२०७८ फागुन १७ गते, मङ्गलबार