सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ‘क्रिसमस डे’ को अवसरमा दिनुभएको शुभकामना सन्देश

 ‘क्रिसमस डे’ को शुभकामना सन्देश

इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा इसाई धर्मका अनुयायीहरूले हरेक वर्ष डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक र सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी ‘क्रिसमस डे’ मनाउँदछन् ।

यस्ता चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्‌भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्‍वास लिएको छु ।

अन्तमा, क्रिसमस डे जस्ता पर्वहरूले सबै नेपालीबीच आपसी विश्‍वास‚ प्रेम र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज तथा समुन्नत नेपाल निर्माणतर्फ अग्रसर हुन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

धन्यवाद ।

२०७८ पुस १० गते शनिबार ।