३०औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको शुभकामना सन्देश
अपाङ्गता भएका व्यक्तिहरूको ३०औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका फरक क्षमता भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
विश्व स्वास्थ्य संगठनको आव्हानमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन तथा उनीहरूको समावेशीकरण र सशक्तीकरणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ लाई ‘अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस’का रूपमा विश्वभर मनाउने गरिएको छ । यस वर्ष ‘समावेशी, सुलभ र दिगो कोभिड-१९ पछिको विश्वतर्फ अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व र सहभागिता’ भन्ने नारासहित विश्वभर यो दिवस मनाइँदैछ । हाम्रो देशमा पनि ‘हाम्रो प्राथमिकताको आधार‚ अपाङ्गता भएका व्यक्तिको अधिकार’ भन्ने राष्ट्रिय संकल्पका साथ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन लागिएको छ ।
नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको छ । यस संवैधानिक प्रावधानको कार्यान्वयनका लागि नेपाल सरकारले आवश्यक कानुन तथा नियमावलीको समेत तर्जुमा गरिसकेको छ । अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा अनुभूत हुनेगरी यी संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयनमार्फत शिक्षा, स्वास्थ्य‚ रोजगारी लगायत राज्यबाट प्रदान गरिने सार्वजनिक सेवा‚ सुविधा र अवसरहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँच स्थापित गर्दै अन्य नागरिक सरह राज्यका निर्णय प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागितालाई सुनिश्चित गर्न राज्यले आफ्नो क्षमता विकास गर्नु पर्दछ र यसको लागि आवश्यक संयन्त्रहरू निर्माण गर्नु पर्दछ । यसका साथै अपाङ्गता भएका व्यक्तिहरूका लागि रोजगारमूलक एवम् सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउन र उनीहरूका लागि अपाङ्गमैत्री भौतिक संरचना निर्माण गर्न सरोकारवाला निकायले ध्यान दिनु पर्दछ ।
अन्त्यमा, अपाङ्गता भएका व्यक्तिहरूको ३०औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा यस क्षेत्रमा काम गर्ने नागरिक समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था सबैलाई थप जिम्मेवारीका साथ काम गर्न उत्प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।
धन्यवाद ।
२०७८ मङ्सिर १७ गते, शुक्रबार ।