महालेखा परीक्षकको कार्यालय भवनको उद्घाटन समारोहमा भाग लिन पाउँदा मलाई खुसी लागेको छ । २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति भएका कारण लामो समयसम्म भवनबिहिन अवस्थामा रहेको महालेखापरीक्षक कार्यालयले अब आफ्नै व्यवस्थित भवन पाएको छ । यसका लागि तपाईँहरूलाई बधाई तथा शुभकामना दिन चाहन्छु ।
नेपालको संविधानले निर्दिष्ट गरे बमोजिम मितब्ययिता, कार्यदक्षता र औचित्य समेत विचार गर्दै सरकारी निकायको कामलाई मूल्याङ्कन गरी सार्वजनिक वित्तीय क्षेत्रमा पारदर्शिता, जबाफदेहिता र स्वच्छता प्रवद्र्धन गर्न यस कार्यालयले महत्वपूर्ण भूमिका खेलिरहेको छ । परम्परागत पद्धतिको सट्टा विद्युतीय प्रविधिबाट लेखापरीक्षण गर्न लागेको जानकारी पाउँदा मलाई खुसी लागेको छ । यसबाट लेखापरीक्षणको गुणस्तर थप अभिबृद्धि हुने अपेक्षा गरेको छु ।
यस भवनको मूल प्रवेशद्वारबाट भित्र आउँदा मैले ठूला अक्षरमा लेखिएको देखें – ‘अथ अर्थानुशासनम्’ । प्राचीन विद्वान कौटिल्यद्वारा रचना गरिएको ‘अर्थशास्त्र’ कृतिमा उल्लेख भएको यस पदावलीले राज्यको आर्थिक अनुशासन हुनुपर्ने पक्षलाई उजागर गरेको छ । राज्य, यसका अङ्ग र निकायको आर्थिक अनुशासन समग्र अर्थतन्त्रको उन्नति र प्रगतिको प्रेरक माध्यम रहेको तथ्य प्राचीन कालदेखि नै हाम्रा पूर्वजहरूको जानकारीमा रहेको कुरा उक्त सूत्रबाट पुष्टि हुन्छ । महालेखापरीक्षकको कार्यालयले यसलाई आफ्नो मूल आदर्श बनाएकोमा म त्यसको सराहना गर्दछु ।
नागरिकबाट थोपा थोपा गरी संकलित भएको आर्थिक स्रोतप्रति उत्तरदायी राज्य व्यवस्थासँग मात्रै नागरिकको अपनत्व बढ्ने यथार्थलाई मध्यनजर गर्दै यस कार्यालयले ‘अर्थानुशासन’ को मर्मलाई व्यवहारमा उतार्ने विश्वास व्यक्त गर्दछु ।
नेपाल सरकारका विभिन्न कार्यालयबाट नियमित सार्वजनिक सेवा, विकास निर्माण, राजस्व संकलन, सामाजिक सेवा, स्रोत साधनको बाँडफाँट, उपयोग र अनुदानको प्रवाह भइरहेका हुन्छन् । ती कार्यहरूको मुल्याङ्कन र विश्लेषणसहित प्रतिवेदन मार्फत सुधारका क्षेत्रहरू पहिचान गरी सरकारलाई महत्वपूर्ण सुझाव प्रदान गर्न महालेखापरीक्षकको कार्यालय सदैव चनाखो र सक्षम रहनुपर्दछ ।
मुलुकमा संघीयता कार्यान्वयन भएपछि संघ, प्रदेश र स्थानीय तहसम्म यस कार्यालयको क्षेत्राधिकार अझ विस्तारित भएको छ । संघीय तथा प्रदेश सरकार र स्थानीय तहबीच संविधान बमोजिम स्रोत र साधनको सूसुचित बाँडफाँट एवम् आर्थिक प्रशासन समेतलाई दुरुस्त राख्न यथार्थपरक ढङ्गले बिश्लेषण गरी कारण पहिचान गर्नु पनि यसै कार्यालयको कार्यक्षेत्र भित्र पर्छ भन्ने विषय म यहाँ स्मरण गर्न चाहन्छु ।
देशको निर्यात भन्दा आयातको मात्रा उल्लेख्य रूपमा बढ्दै जाँदा मुलुकको व्यापार घाटा आज चिन्ताजनक रूपले चुलिएको छ । यो कृषि प्रधान मुलुक भएता पनि आधारभूत कृषि उपजमै परनिर्भरता हुनु दुःखको विषय हो । यसैगरी अपार जलस्रोतको सदुपयोग गरेर विद्युतीय सवारी साधन एवं विद्युतीय औजार प्रयोग हुन नसक्दा ठूलो परिमाणमा जैविक इन्धन आयात गर्नुपरेका कारणले समेत यो डरलाग्दो व्यापार घाटा व्यहोर्न हामी बाध्य बनेका छौँ ।
आत्मनिर्भर तथा स्वाधीन अर्थव्यवस्था निर्माण गर्नका लागि हालका नीतिहरूको विश्लेषण गर्दै जनताको उद्यमशीलता प्रवद्र्धन गर्न राज्यका सम्बद्ध निकायलाई घच्घच्याउने भूमिकासमेत महालेखा परीक्षकको कार्यालयले खेल्न सक्दछ । आजको यो अवसरमा म तपाईंहरूको ध्यान त्यसतर्फ आकर्षित गर्न चाहन्छु ।
सार्वजनिक खर्चमा बेरुजुको रकम बढ्दै जानु हामी सबैको लागि अर्को ठूलो चुनौतीको विषय बनेको छ । नियन्त्रण गर्ने प्रयासहरू हुँदाहुँदै बर्षेनी बेरुजू रकम बढ्ने क्रम के कारणले भैरहेको छ ? कसरी विगतको बेरुजू फस्र्यौट गर्ने ? र, कसरी आगामी दिनमा यसलाई पूर्ण नियन्त्रण गर्ने ? यी सवालहरूको जवाफ त खोज्नै पर्दछ, साथै आर्थिक अनुशासन कायम हुन नसक्दा मुलुकले व्यहोर्न बाध्य हुनुपरेको परिणामको समेत परीक्षण तथा मूल्यांकन कसरी गर्न सकिन्छ भन्ने विषयमा गम्भीर ध्यान पुर्याउनु पर्दछ भन्ने मलाई लागेको छ । यी ज्वलन्त प्रश्नका सम्बन्धमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र यस कार्यालयले समेत गहन अध्ययन बिश्लेषण गरी सुधार योजना लागू गर्नु आवश्यक छ ।
आज उद्घाटन भएको यस भवन निर्माणको क्रममा अहोरात्र खटिनुहुने प्राविधिक तथा अन्य कर्मचारी एवम् सम्बन्धित सबैलाई धन्यबाद दिन चाहन्छु । निर्माण कार्य गर्दा भवन संहिता एवम् मापदण्डहरू पालना गरी गुणस्तरीय तवरले निर्माण गरिएको छ भन्ने मैले विश्वास लिएको छु ।
कार्यालयको भवन निर्माण कार्य सम्पन्न गरी उद्घाटन समारोहमा आमन्त्रण गर्नु भएकोमा महालेखापरीक्षकको कार्यालयप्रति धन्यवाद प्रकट गर्दै आफ्नो कार्यक्षेत्रमा यहाँहरू सबैलाई सफलता मिलोस् भनी शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०७८ साल मङ्सिर ९ गते बिहीबार ।