यस पवित्र स्वयम्भुनाथ परिसरमा ऐतिहासिक ज्ञानमाला भजन खलः को पुनर्निर्मित भवनको उद्घाटन समारोहमा सहभागी हुन पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा पुनर्निर्माण कार्यमा संलग्न नेपाल सरकारको पुरातत्व विभाग, पुनर्निर्माण प्राधिकरण र काठमाडौँ महानगरपालिकालाई धन्यवाद दिँदै भजन खलः को उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
राष्ट्रको उत्थानमा समर्पित हुन गठन गरिएका संगठन वा संस्थाहरूको गौरवपूर्ण इतिहास र कार्यले वर्तमान तथा भविष्यमा समेत सधैँ महत्वपूर्ण सन्देश प्रवाह गर्दै समाजलाई सत्मार्गमा लाग्न उत्प्रेरित गरिरहेको हुन्छ । ज्ञानमाला भजन खलः त्यस्तै ऐतिहासिक विरासत बोकेको सामाजिक तथा साँस्कृतिक संस्था हो, जसले समाजलाई जागृत गर्दै आएको छ र सधैँ गरिरहनेछ भन्ने मलाई लागेको छ ।
ज्ञानमाला भजन खलः स्थापना गरिनुको प्रमुख उद्देश्य समाजमा शान्तिका प्रवर्तक बुद्धका शाश्वत उपदेशको प्रवद्र्धन गरी सद्भाव, सहिष्णुता र सामाजिक चेतना फैलाउनु, नागरिकलाई साक्षर बनाउनु तथा साँस्कृतिक जागरण ल्याएर महिला हकहितको पक्षमा समेत नागरिकलाई गोलबन्द बनाउनु रहेको थियो ।
आम जनतालाई अँध्यारोमा राख्ने त्यसबेलाको निरंकुश जहानीयाँ शासन व्यवस्थामा समग्र सामाजिक हितका निम्ति अग्रसर हुन ठूलो चुनौतिको सामना गर्नुपर्दथ्यो । तैपनि भजन खलः ले जसरी आफ्नो दायित्व अविचलित रूपमा पूरा गर्यो, त्यसको स्मरण मात्रले पनि हामी सबैलाई आजपर्यन्त प्रेरित गरिरहेको छ । यस्तो ऐतिहासिक जिम्मेवारी बहन गरेको संस्थाले समाजसापेक्ष क्रियाकलाप अगाडि बढाउँदै अगाडि बढ्नु सराहनीय विषय हो भन्ने मलाई लाग्छ ।
ज्ञानमालाका संस्थापकहरूले निरन्तर भजन तथा गीत–संगीत जस्ता रचनात्मक क्रियाकलापद्वारा समाजमा उज्यालो छर्ने कार्य गरिरहँदा कुनैपनि अवरोधले गलाउन सकेन ।
साँस्कृतिक, धार्मिक र जातीय विविधताको अनुपम फूलवारीका रूपमा रहेको हाम्रो बिशेषता र मूल्यमान्यताको अभिबृद्धिमा खलःले सधैँ योगदान पुर्याइरह्यो । आजको दिनले बौद्ध दर्शनको अनुसरण गर्दै मन, वचन र कर्मद्वारा शान्ति, सहिष्णुता र भ्रातृत्वको सन्देश विस्तार गर्न र मानव जीवनलाई अनुशासित, सुखी र समृद्ध बनाउन थप प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।
जनताका आस्थाका मौलिक सांस्कृतिक धरोहरहरूको सम्बर्द्धन गर्न त्यस वरपरका प्राकृतिक सम्पदाको संरक्षण गरी पर्यावरण सन्तुलन कायम राख्नु अति आवश्यक हुन्छ । प्रकृति र संस्कृति एक अर्काका पुरक हुन् । त्यसैले यस्ता पुरातात्विक सम्पदा र साँस्कृतिक स्थलहरूको स्वच्छता र कलात्मक सौन्दर्यतामा जोड दिँदै त्ससको मौलिकपनलाई जोगाउन आवश्यक हुन्छ । यसका निम्ति यस क्षेत्रमा रहेका प्राकृतिक विज्ञान संग्रहालय, ज्ञानमाला भजन खलः जस्ता संस्थाहरूले यहाँको प्रकृतिलाई सिँगारेर अमूल्य साँस्कृतिक निधिहरूलाई जगेर्ना गर्न ध्यान दिनु पर्दछ ।
यस्तो सिर्जनात्मक कार्यबाट एकातिर हाम्रा मूर्त तथा अमूर्त सम्पदाको संरक्षण हुन पुग्दछ भने अर्कातिर यो स्थल एक दिगो साँस्कृतिक पर्यटकीय गन्तव्यको रूपमा समेत विकसित हुनेछ । यसबाट स्थानीय समुदायको आयआर्जनमा मद्दत मिल्दछ भने देशको आर्थिक विकासमा समेत टेवा र प्रोत्साहन पुग्दछ ।
यो पुनर्निर्मित सत्तल उद्घाटन भइरहेको समयमा अतीतको थोरै मात्र पनि स्मरण गरेको खण्डमा संस्थाको स्थापना गर्ने र संस्थालाई आजको अवस्थासम्म ल्याइपुर्याउन भूमिका खेल्ने व्यक्तित्वहरूप्रति सम्मान हुनेछ भन्ने मलाई मलाई लागेको छ । २०७२ सालको विनाशकारी भूकम्पले भवनमा ठूलो क्षति पु¥याए पनि त्यसले खःलको उद्देश्यलाई विचलित बनाउन सकेन र ऐतिहासिक दायित्व पूरा गर्न प्रेरणा प्रदान गरिरहेको महसुस गरेको छु ।
विश्वमा उत्कृष्ट साँस्कृतिक नगरको रूपमा समेत चिनिएको काठमाडौँ उपत्यकामा धुवाँ र धुलोले गर्दा व्यापक रूपमा हावामा प्रदूषण फैलिइरहेको छ र जनस्वास्थ्यमा गंभीर क्षति पु¥याइरहेको छ । यसबाट बच्न खाना पकाउनका लागि स्वच्च विद्युतीय ऊर्जाको प्रयोग गर्न र बाटोघाटोलाई स्वच्छ राख्न अपरिहार्य भएको विषयमा सम्बन्धित निकायको ध्यान पुग्नु पर्दछ ।
यो कृषि प्रधान मुलुक हो तर पनि कृषि र बनजन्य उत्पादनमा आत्मनिर्भर हुन नसक्दा हामीले ठूलो व्यापार घाटा व्यहोर्नु परिरहेको छ । जलस्रोत सम्पदामा सम्पन्न हाम्रो मुलुक अहिले पूर्वाधार विकासको चरणमा भएकाले इँट्टा तथा सिमेन्ट उद्योग, यातायात प्रवद्र्धन र औद्योगिक विकासका निम्ति स्वच्छ विद्युतीय ऊर्जाको उत्पादन बढाउँदै त्यसको सदुपयोगमा ध्यान पुर्याउनु पर्दछ । विश्व जलवायु संकटतर्फ धकेलिइरहेको परिवेशमा माननव जातिले विकास निर्माण प्रक्रियालाई अगाडि बढाइरहँदा बुद्धका उपदेशहरूलाई सधैँ ध्यान पुर्याउनु पर्ने टड्कारो आवश्यकता महसुस गरेको छु ।
बुद्धको एउटा प्रसिद्ध उपदेश छ– अप्प दिपो भवः, जसको अर्थ हुन्छ– हरेक व्यक्तिले आफ्नो प्रकाश आफैं बन्नुपर्दछ । यस दिव्य सन्देशलाई नेपाली मनले आत्मसात गर्दै बुद्ध जन्मस्थल यस पवित्र भूमिबाटै विश्वलाई पुनः एकपटक सन्देश प्रवाह गर्न अग्रसर बन्नु पर्दछ । यो नै मानव सभ्यताको संरक्षण तथा मानवीय सुख, दिगो शान्ति र समृद्धिको निम्ति दिगो मार्ग हो ।
सत्तल पुनर्निर्माण गर्न आफनै स्रोत तथा साधन परिचालन गरेर नेपाली स्वाभिमान कायम राख्न लामो इतिहास रच्न सफल यस खलः ले गरेको प्रयास प्रशंसनीय छ । यसबाट अरुलाई समेत प्रेरणा मिल्ने अपेक्षा लिएको छु ।
धन्यवाद ।
२०७८ साल मङ्सिर ४ गते शनिवार ।
स्वयम्भुनाथ परिसर, काठमाडौँ ।