कुमारी इन्द्रजात्रा पर्व ,२०७८ को शुभकामना सन्देश
कुमारी इन्द्रजात्रा पर्व, २०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।
यस पर्वमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा अर्चना एवं जीवित देवी कुमारी र गणेश तथा भैरवको रथयात्रा गरी धुमधामका साथ मनाउने परम्परा रहेको छ । पर्याप्त वर्षाका कारण फलेको राम्रो अन्नबालीका लागि वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानव बीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको छ।
प्रकृतिसँग यसरी जोडिएका जात्रा एवं पर्वहरू सयौं वर्षदेखि निरन्तर चलिआएका हुनाले हाम्रो मुलुक प्रकृति र संस्कृतिको अतुलनीय संगमको रूपमा रहेको स्पष्ट हुन्छ । समृद्ध इतिहास र परम्पराका जीवन्त उदाहरणका रूपमा रहेका कुमारी इन्द्रजात्रा जस्ता मौलिक पर्वहरूको संरक्षण गरी भावी पुस्तालाई हाम्रो गौरवपूर्ण सभ्यता हस्तान्तरण गर्नुपर्दछ ।
मूलत: काठमाडौं उपत्यकावासी नेवार समुदायद्वारा मनाइने कुमारी इन्द्रजात्राको सांस्कृतिक एवम् ऐतिहासिक पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीहरू बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुर्याउने विश्वास लिएको छु ।
अन्तमा, कोभिड १९ को महामारीबाट जोगिन जनस्वास्थ्यका मापदण्डको पालना गर्दै सावधानीपूर्वक हाम्रा चाडपर्वहरू मनाउन सम्बद्ध सबैमा आव्हान गर्दछु । कुमारी इन्द्रजात्रा पर्वले प्राकृतिक स्रोतहरूको सन्तुलित र दिगो सदुपयोग गर्दै सामाजिक न्याय सहितको समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ्न हामी सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।
धन्यवाद ।
२०७८ असोज ३ गते आइतबार ।