नेपाली वीरताको ऐतिहासिक गाथा बोकेको सिन्धुलीगढीमा ‘सिन्धुलीगढी युद्ध सङ्ग्रहालय’ निर्माण भएकोमा खुसी व्यक्त गर्दै यस सङ्ग्रहालयको स्थापना र व्यवस्थापनमा सम्बद्ध सबैमा बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
आजको यस महत्त्वपूर्ण अवसरमा नेपालको एकीकरण अभियान, देशको अखण्डता, स्वाधीनता र सार्वभौमसत्ताको रक्षाका निम्ति अमूल्य जीवन उत्सर्ग गर्ने महान् वीर विराङ्गनाप्रति भावपूर्ण श्रद्धासुमन प्रकट गर्दछु । साथै आज यस ऐतिहासिक वीरभूमिमा यो महत्त्वपूर्ण सङ्ग्रहालयको उद्घाटन गरिरहँदा बाढि, पहिरो, नदीकटान, भू–क्षयजस्ता प्रकोपबाट देशका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै आफ्नो अमूल्य जीवन गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दछु र परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।
करिब अढाई सय वर्ष अगाडि नेपाल आक्रमण गर्न आएको विदेशी सेनालाई नेपाली सेना र जनताको वीरतापूर्ण प्रतिरोधद्वारा यसै स्थानमा परास्त गरिएको थियो । त्यसकारण सिन्धुलीगढी नेपाली शूरता र वीरताको परिचायक ऐतिहासिक स्थलको रूपमा रहेको छ । हामीलाई आजपर्यन्त स्वतन्त्र र स्वाधीन राष्ट्रको पहिचान दिलाउन इतिहासमा अंकित त्यस घटनाक्रमको विशिष्ट योगदान रहेको छ । आज यस ऐतिहासिक स्थललाई विश्वसामु चिनाउन भइरहेको प्रयासबाट सम्पूर्ण नेपालीहरूलाई गौरवको अनुभूति भइरहेको मैले महसुस गरेको छु ।
सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालयको निर्माणले ऐतिहासिक सम्पदाहरूको संरक्षण हुनुका साथै सिन्धुली जिल्लालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न समेत मद्दत पुग्ने विश्वास लिएको छु । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ तथा प्रतिकूल मौसमको बाबजुद नेपाली सेनालाई प्राप्त बजेटबाट सिन्धुलीगढी युद्ध सङ्ग्रहालय निर्माण कार्य समयमै सम्पन्न गराउन नेपाली सेनाको भूमिका उल्लेखनीय रहेको छ ।
यसैगरी यस सङ्ग्रहालय स्थापनाका निम्ति स्थानीय समुदायको चासो तथा उत्कट अभिलाषालाई साकार तुल्याउन कमलामाई नगरपालिकाले लिएको पहलकदमीको प्रशंसा गर्दछु । नागरिक र सैनिक सम्बन्धको उत्कृष्ट नमूनाका रूपमा यस संङ्ग्रहालयको निर्माण कार्यले देशका अन्य स्थानहरूमा समेत यस प्रकारका ऐतिहासिक धरोहरहरूको संरक्षण र निर्माणको लागि सरोकारवाला सबैलाई प्रेरणा प्रदान गर्नेछ ।
हाम्रा वीर पुर्खाहरूले आफ्नो देशको रक्षाका लागि के कस्तो बहादुरीपूर्ण भूमिका निर्वाह गरेका थिए भन्ने तथ्य तथा शिक्षा भावी पुस्तालाई हस्तान्तरण गर्दै त्यस ऐतिहासिक परिवेशबाट समग्र राष्ट्रलाई अभिप्रेरित गर्न सिन्धुलीगढी युद्ध सङ्ग्रहालयले महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरेको छु ।
यो सङ्ग्रहालय अनुसन्धानकर्ता, विद्यार्थीलगायत स्वदेशी तथा विदेशी पर्यटकका लागि समेत उपयुक्त भ्रमण स्थल बन्नसक्ने देखिन्छ ।
हाम्रो देश प्राकृतिक सौन्दर्य, जैविक विविधता, मौलिक साँस्कृतिक सम्पदा आदिका कारण एक महत्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा रहिआएको सन्दर्भमा विकसित राष्ट्रहरूको उदाहरणलाई समेत हेर्दा यस्ता ऐतिहासिक स्थलहरूबाट पर्यटन प्रवर्द्धनमार्फत् आर्थिक लाभ प्राप्त गर्न सकिने सम्भावना रहेको छ । यसबाट हाम्रो गौरवमय इतिहासलाई वाह्य पर्यटनका माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्न समेत मद्दत पुग्न जाने देखिन्छ ।
ऐतिहासिक पदमार्ग, गढी, सांस्कृतिक सम्पदा लगायतका ऐतिहासिक स्थालहरूको संरक्षण तथा सम्वद्र्धनमा सदा झैँ नेपाली सेना र स्थानीय समुदाय बीचको सुदृढ समन्वय र सहकार्यले निरन्तरता पाउने विश्वास लिएको छु ।
नेपालको एकीकरण अभियानका ऐतिहासिक सन्दर्भ र घटनाहरूलाई विभिन्न तहका पाठ्यक्रममा अझ बढि समावेश गरी शिक्षाको माध्यमबाट भावी पुस्तासम्म राष्ट्र, राष्ट्रियता र देशप्रेमको भावना प्रवद्र्धन गर्नुपर्दछ ।
यसैगरी यस्ता गौरवपूर्ण ऐतिहासिक परिवेशहरू सबैको जानकारीमा ल्याउन देशका विभिन्न स्थानमा सङ्ग्रहालय पुस्तकालय निर्माण गर्न र चलचित्र र वृत्तचित्र बनाउन राज्यको ध्यान पुग्नु पर्दछ भन्ने मलाई लागेको छ ।
हाम्रा असल तथा बहादुर पुर्खाको साहस र बलिदानले जोगाएको हाम्रो मुलुकलाई विकास र समृद्धिको मार्गमा तीब्र रूपमा अगाडि बढाउनु पर्ने दायित्व वर्तमान पुस्ताको काँधमा आएको छ ।
आम जनतालाई सुख र खुशी बाँड्नका लागि हाम्रा सम्पूर्ण प्रयास केन्द्रित हुनुपर्दछ । समयले हामीलाई सुम्पेको गुरुत्तर अभिभारा पूरा गर्न सबै राजनीतिक दलहरू, जननिर्वाचित प्रतिनिधि तथा राष्ट्रिय नेतृत्वका बीच आपसी सहकार्य र मेलमिलापको वातावरण कायम राख्न सम्बद्ध सबैमा आव्हान गर्दछु ।
नेपाल–जापान मैत्रीको प्रतीकको रूपमा रहेको वीपी सडक खण्डलाई समेटेको सिन्धुली भएर दैनिक हजारौँ यात्रुहरू आवतजावत गर्ने भएकाले भरपर्दो र गुणस्तरीय यातायातको प्रबन्ध गर्नुपर्नेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने खाँचो रहेको छ ।
यो क्षेत्र विविध ऐतिहासिक सम्पदाले सुसम्पन भएकाले शैक्षिक भ्रमण, देश दर्शन जस्ता कार्यक्रम अन्तर्गत आन्तरिक तथा बाह्य पर्यटक, बालबालिका, विद्यार्थी र अनुसन्धानकर्ता आउने भएकाले मौलिक पहिचानयुक्त सुविधा सम्पन्न अतिथि सदन, आवास गृह, सभाकक्ष जस्ता भौतिक पूर्वाधारको विकास गर्नुपर्दछ । यसबाट सानो अर्थतन्त्र चलायमान हुन्छ, उत्पादकत्व वृद्धि हुन्छ र वैदेशिक रोजगारीमा जाने प्रवृत्ति निरुत्साहित हुन्छ । साथै, यसप्रकारका आर्थिक गतिविधिले पनि मुलुकमा चुलिएको व्यापार घाटा न्यून गर्न समेत मद्दत मिल्दछ । फलस्वरुप ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने साझा राष्ट्रिय आकांक्षा साकार तुल्याउन समेत टेवा पुग्दछ ।
हामीले हाम्रो मुलुकको विकास प्रक्रियालाई अगाडि बढाइरहँदा भने यहाँको भूगोललाई गहिरोसँग बुझ्नु पर्दछ । यो क्षेत्र भूकम्प र जलवायु परिवर्तनको उच्च जोखिमयुक्त स्थानमा पर्ने भएकाले पूर्वाधार विकास तथा संरचना निर्माण गर्दा सुरक्षित स्थान र वैज्ञानिक डिजाइन अनुसार गर्नुपर्दछ । यस सन्दर्भमा हालै मात्र सिन्धुपाल्चोक जिल्लाको मेलम्चीलगायत मुलुकका विभिन्न भागको प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षतिबाट सम्बन्धित निकायले उचित शिक्षा लिनु पर्दछ भन्ने मलाई लागेको छ ।
अन्तमा, आजको यस कार्यक्रममा विविध सृजनात्मक प्रस्तुति दिने कलाकार तथा सर्जकलाई धन्यवाद दिन चाहन्छु । यस संग्रहालय स्थापनामा उल्लेखनीय योगदान पु¥याउने सबैप्रति पुनः हार्दिक आभार प्रकट गर्दै भविष्यमा समेत यस किसिमका कार्यहरू गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना दिन चाहन्छु ।
धन्यवाद ।
२०७८ साल श्रावण १३ गते बुधबार ।