आज जेठ १६ गते ‘महिलाको सुरक्षा र अधिकार: संकटकालीन व्यवस्थापन हाम्रो सरोकार’ भन्ने नाराका साथ हामी तेस्रो राष्ट्रिय महिला अधिकार दिवस मनाउँदै छौं । यस अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । महिलाको हक अधिकार सुनिश्चित गर्न विभिन्न भूमिकाबाट योगदान गर्नुहुने सम्पूर्ण अग्रजहरूको स्मरण गर्दै उहाँहरूप्रति हार्दिक सम्मान अर्पण गर्दछु ।
२०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण ४ वटा ‘विशेष प्रस्ताव’ पारित गरेको थियो । नेपाली महिलाको अधिकारलाई नीतिगत र कानुनी रूपमा सुनिश्चित गर्ने आधार संसदबाट निर्माण गरिएको सोही दिनको स्मरण स्वरूप जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउन थालिएकोमा मलाई खुसी लागेको छ । लैङ्गिक समानता तथा महिला अधिकार सुनिश्चित गर्न लामो समयदेखि भएका धेरै संघर्षहरूलाई यस राष्ट्रिय दिवसले सम्मान र पहिचान प्रदान गरेको छ ।
उक्त ‘विशेष प्रस्ताव’लाई आधार मानेर नेपालको संविधानले महिलाको समानताको हक, समानुपातिक सहभागिताको हक, प्रजनन स्वास्थ्यसम्बन्धी अधिकार, महिलाविरुद्ध हिंसामा प्रतिबन्ध लगायत महिलाका आधारभूत अधिकारलाई मौलिक हकका रूपमा ग्रहण गरेको छ । राज्यका तर्फबाट गरिएका संवैधानिक, नीतिगत, कानुनी तथा संरचनागत व्यवस्थाका कारण राज्यका महत्वपूर्ण निकाय तथा संघ, प्रदेश र स्थानीय तहका संरचनामा महिलाको उल्लेख्य प्रतिनिधित्व सुनिश्चित भएको छ । यसरी नै शिक्षा, स्वास्थ्य, रोजगारी, सम्पत्तिमा स्वामित्व, श्रम सहभागिता लगायतका सूचकमा वृद्धि भई नेपालको समग्र लैङ्गिक विकास सूचकाङ्कमा समेत सुधार भएको छ । मुलुकको विकासका लागि यो निकै खुसीको विषय हो ।
लैङ्गिक विभेदको अवस्थालाई अन्त्य गर्ने उद्देश्यका साथ सरकारले ल्याएको राष्ट्रिय लैङ्गिक समानता नीतिको प्रभावकारी कार्यान्वयनबाट समग्र लैङ्गिक उत्तरदायी शासन व्यवस्थाको विकास मार्फत् महिला‚ किशोरी तथा बालिकामाथि हुने सबै किसिमका हिंसा र विभेदको अन्त्य भई लैङ्गिक समानतायुक्त न्यायपूर्ण समाज निर्माण हुने अपेक्षा गरेको छु ।
यद्यपि लामो समयदेखि हाम्रो समाजमा विद्यमान पितृसत्तात्मक एवं पुरातन सोचका कारण महिलाहरू सामाजिक‚ सांस्कृतिक‚ शैक्षिक‚ राजनीतिक एवं आर्थिक रूपमा पछाडि पारिएका छन् । यस्ता सोच र प्रवृत्तिहरू समाजबाट अझै हटिनसकेका कारण संविधान र कानुनद्वारा प्रदत्त महिलाका अधिकारहरू पूर्ण रूपमा व्यवहारमा कार्यान्वयन गर्ने काममा कठिनाई रहेको छ ।
अहिले हामीले समानताको जग मात्र बसालेका छौं । अगाडि बढ्ने क्रममा अझै धेरै कामहरू गर्न बाँकी नै छ । बलात्कार, एसिड आक्रमण, घरेलु हिंसा, बोक्सीको आरोपमा गरिने कुटपिटका साथै छाउपडी, दाइजो, बालविवाह, बहुविवाह जस्ता सामाजिक प्रचलनहरूको नाममा गरिने महिला हिंसाका घटनाहरू लैङ्गिक समानता कायम गर्ने हाम्रो प्रयासमा चुनौति बनेका छन् । यस्ता चुनौतिको सामना गर्न महिलाहरूको शैक्षिक एवं आर्थिक सशक्तीकरणका साथै समाजको सांस्कृतिक रूपान्तरणका लागि समेत हामी सबैले निरन्तर प्रयास जारी राख्नु पर्दछ । सामाजिक कुपरम्परा र विकृतिहरूलाई निर्मूल गरी सभ्य‚ सुसंस्कृत र लैङ्गिक समानतायुक्त राष्ट्र निर्माणका लागि प्रतिवद्धता सहित विशेष पहलका लागि म सम्बद्ध पक्षको ध्यान आकृष्ट गराउन चाहन्छु ।
मुलुकले अङ्गीकार गरेको सङ्घीय ढाँचा र शासकीय स्वरूप अनुरूप हुनेगरी सरकारका तर्फबाट महिला सशक्तीकरण र लैङ्गिक समानताका लागि प्रयासहरू भएका छन् । यसबाट मुलुकले हासिल गरेको उपलब्धिलाई निरन्तरता दिंदै लैङ्गिक उत्तरदायी शासन पद्धतिलाई स्थानीय तहदेखि नै संस्थागत गरी अगाडि बढेमा “समृद्ध नेपाल, सुखी नेपाली” को साझा राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सक्ने कुरामा दुईमत छैन ।
यस बेला हामी विश्वव्यापी कोभिड–१९ महामारीको घातक दोस्रो लहरको सामना गरिरहेका छौं । अन्य विपत्तिको समयमा झैं यस महामारीको बेलामा पनि महिलाहरू बढी जोखिमपूर्ण अवस्थामा रहेका
छन् । अग्रपङ्क्तिमा रही महामारीसँग लड्दा होस् वा संक्रमणको सामना गर्दा होस्, महिलाको सुरक्षाका लागि उनीहरूको विशेष भूमिकाका कारण देखिएका लैङ्गिक आवश्यकतालाई सम्बोधन गर्न सम्बद्ध पक्षले विशेष ध्यान दिनुपर्दछ ।
अन्त्यमा, कोभिड–१९ महामारीबाट हामी सबैले छिट्टै छुटकारा पाई सहज जीवनयापनमा फर्कने छौं भन्ने आशाका साथ यस दिवसबाट सामाजिक सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा नेपाली महिलाको सुरक्षा, सम्मान र हक अधिकार सुनिश्चित गरी न्यायपूर्ण र लैङ्गिक समानतायुक्त राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भनी पुन: शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद
२०७८ साल जेठ १६ गते, आइतबार ।