२९औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको शुभकामना सन्देश
अपाङ्गता भएका व्यक्तिहरूको २९औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका फरक क्षमता भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन गर्ने तथा समावेशीकरण र सशक्तीकरणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठनको आव्हानमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्वर ३ लाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाउने गरिएको छ ।
‘कोभिड-१९ पश्चात्को उत्कृष्ट पुनरागमनको सुनिश्चितताः अपाङ्गता भएका व्यक्तिहरूको पहुँच र दिगो विकासको लागि हामी सबैको प्रतिवद्धता’ भन्ने राष्ट्रिय संकल्पका साथ नेपालमा पनि अपाङ्गता दिवस मनाउन लागिएको छ ।
नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको छ । यसै बीच ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४’ निर्माण भएको छ भने नेपाल सरकारले यसको कार्यान्वयनका लागि ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली, २०७७’ समेत जारी गरिसकेको छ । यी संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट वञ्चित अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी राज्यबाट प्रदान गरिने सबै सुविधा र अवसरहरूमा उनीहरूको समान पहुँच स्थापित गरिनु पर्दछ । यसका साथै उनीहरूलाई क्षमता र आवश्यकता अनुसारका रोजगारमूलक एवम् सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउनेतर्फ ध्यान जानु पर्दछ ।
अपाङ्गताप्रति समाजमा विद्यमान नकारात्मक धारणाहरूमा न्यूनीकरण गर्न र अपाङ्गता भएका व्यक्तिहरूप्रति समाज र सरोकारवालाहरूको व्यवहारमा परिवर्तन ल्याउन पनि यो दिवसको महत्व रहेको छ । फरक क्षमता भएका व्यक्तिहरूको दैनिक जीवन सहज तुल्याउन र सार्वजनिक सेवामा उनीहरुको सहज पहुँच स्थापित गर्न अपाङ्गमैत्री भौतिक संरचना निर्माण गर्नेतर्फ सम्बन्धित निकायको ध्यान केन्द्रित हुनुपर्ने कुरा मैले महसुस गरेको छु ।
अन्त्यमा, अपाङ्गता भएका व्यक्तिहरूको २९औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा यस क्षेत्रमा काम गर्ने नागरिक समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था सबैलाई थप जिम्मेवारीका साथ काम गर्न उत्प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।
धन्यवाद ।
२०७७ मङ्सिर १८ गते, बिहीबार ।