यस समारोहका अध्यक्ष सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू,
माननीय शिक्षामन्त्री एवं सहकुलपति,
काठमाडौँ विश्वविद्यालयका उपकुलपति,
विभिन्न देशका राजदूतहरु,
विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरु,
विश्वविद्यालयका संस्थापकहरू,
विश्वविद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरू,
अन्य प्राज्ञिक वर्ग एवं अतिथिहरू,
भद्र महिला तथा सज्जनवृन्द !
सर्वप्रथम काठमाडौँ विश्वविद्यालयको रजत महोत्सव समारोहमा मलाई आमन्त्रण गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दै यस विश्वविद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
काठमाडौँ विश्वविद्यालय नेपालको एक प्रतिष्ठित शिक्षण संस्थाको रूपमा स्थापित भइसकेकोमा खुशी लागेको छ । गुणस्तरीय शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको स्थापना, सञ्चालन र विकास गर्न सफल प्राज्ञिक समुदायको कदर सबैले गर्नु पर्दछ ।
राम्रो काम गर्न राम्रो समूह चाहिन्छ र त्यस्तो समूहमा अविचलित निष्ठा, पारदर्शिता र इमान्दारिता भयो भने छोटो समयमै परिणाम सही र प्रभावकारी निस्किन्छ ।
शिक्षाका विषयमा कुरा गर्दा हामीले दिने शिक्षा कसका लागि र कुन उद्देश्यका लागि भन्ने कुरामा ध्यान दिनुपर्ने हुन्छ । हामीले दिने शिक्षा आमजनताको हितका लागि हुनुपर्छ । जनताको हित नै हाम्रो चासो र शिक्षाको उपलब्धि बन्नुपर्छ ।
मुलुकलाई आर्थिक तथा सामाजिक विकासका निम्ति आवश्यक पर्ने शैक्षिक जनशक्ति परिपूर्ति शिक्षाको लक्ष्य र उद्देश्य हुनुपर्छ । यसका निम्ति शिक्षा सर्वसुलभ, सीपमूलक, व्यावहारिक, जनमूखी र वैज्ञानिक हुनुपर्दछ । शैक्षिक क्रियाकलाप संचालन गर्दा, पाठ्यक्रम निर्माण गर्दा र अनुसन्धान गर्दा/गराउँदा आमजनताको हितलाई केन्द्रविन्दूमा राखेर गर्नुपर्दछ ।
अहिलेको युगले मागेको शिक्षा विज्ञान र प्रविधिमा आधारित भएपनि आफ्नो संस्कृति, भूगोल, इतिहास र राष्ट्रिय सम्पदाप्रति यथेष्ठ जानकारी र श्रद्धा एवं सम्मान जगाउने समेत हुनुपर्दछ । भावी पुस्तामा समेत राष्ट्रप्रेमको भावना ओतप्रोत गराउने शिक्षा उपलब्ध गराउनु पर्दछ ।
शिक्षामार्फत राज्यले सुसंस्कृत नागरिक तयार पार्नु पर्दछ । हाम्रा विद्यार्थीलाई श्रमप्रति सम्मान गर्दै जिउन सिकाउने, कठिन बाटोमा पनि हाँसी–हाँसी हिँड्न सिकाउने एवं राष्ट्र र जनताको हितमा आफूलाई समर्पित गराउन सिकाउने शिक्षा दिनु पर्दछ । नेपाली युवा विद्यार्थीहरु गुणस्तरीय शिक्षा र रोजगारीका निम्ति वर्षेनी हजारौँको सङ्ख्यामा विदेशिने प्रवृत्ति बढ्दो छ । यसबाट नेपालको ठूलो धनराशी विदेशिने मात्र होइन उच्च शिक्षा हासिल गरेको जनशक्ति पलायन हुँदा स्वदेशमा चाहिने जनशक्तिको समेत अभाव हुन्छ ।
तसर्थ अब स्वदेशमा चाहिने अधिकांश जनशक्ति आफैँले पूरा गर्दै विश्वबजारमा समेत प्रतिस्पर्धा गर्नसक्ने र विभिन्न क्षेत्रमा नेतृत्व लिनसक्ने जनशक्ति तयार पार्न नेपाली विश्वविद्यालयहरु सक्षम हुनुपर्दछ । त्यसैले हाम्रा विश्वविद्यालयहरुलाई गुणस्तरीय शिक्षाका निम्ति विदेशिने क्रमलाई रोक्न मात्र होइन विदेशी विद्यार्थीहरूलाई आकर्षित गरी राम्रो शैक्षिक गन्तव्यको रुपमा नेपाललाई चिनाउन सके शैक्षिक क्षेत्रबाट देशलाई आर्थिक टेवा समेत पुग्नेछ ।
पूर्वाधार विकास र अनुसन्धानमा राज्यले पर्याप्त लगानी गरी प्रतिफल हासिल गर्न सदा तत्पर रहनु पर्दछ । देशमा बहुविश्वविद्यालयको अवधारणाले स्थान पाएकाले उनीहरुले गुणस्तरमा स्वस्थ्य प्रतिष्पर्धा गर्दै आपसी समन्वय र सद्भाव कायम गरी अघि बढ्नु बान्छनीय हुन्छ ।
उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालयहरु विद्यालय शिक्षाको जगमा खडा हुने भएकाले ती विश्वविद्यालयहरुले विद्यालय तहको शिक्षालाई गुणस्तरीय बनाउन स्रोत तथा साधन र जनशक्ति उपलब्ध गराउन उचित ध्यान दिँदै अनुगमन, निरीक्षण र समन्वय गर्नु पर्दछ ।
शैक्षिक प्रशासनलाई चुस्त दुरुस्त राख्दै छिटोछरितो ढंगले कार्यसम्पादन गर्नुपर्दछ र उत्पन्न भएका शैक्षिक विकृति तथा विसंगति हटाउनु पर्दछ । नेपाल सुन्दर छ र हामी नेपालीहरू पौरखी र लगनशील छौँ ।हामीमा आँट, आत्मविश्वास र क्षमता पनि छ । बुद्धि–विवेक प्रयोग गरेर योजनाबद्ध ढङ्गले काम गर्ने हो भने हामीले आँटेको काम अवश्य पूरा गर्न सक्छौँ । हाम्रा अगाडि समस्या र चुनौतीहरू प्रशस्त छन् । ती समस्या र चुनौतीहरू हाम्रा लागि काम गरेर देखाउने र भविष्यका लागि उदाहरण बन्ने अवसर पनि हुन् । तर हाम्रा अगाडिका चुनौतीहरू कठिन प्रकारका भएकाले हाम्रो अठोट र प्रयत्न पनि बलियो खालकै हुनुपर्छ । सानो प्रयत्नले ठूलो चुनौतीलाई सामना गर्न सकिँदैन, तर निरन्तर प्रयत्न गर्ने हो भने केही वर्षमै चुनौतीलाई सामना गर्न सकिन्छ । हामीले हिम्मत हार्नु हुँदैन र असल कार्यको अभियानलाई निरन्तरता दिएर त्यो अभियानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ ।
हाम्रो संविधानले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरिसकेको छ । देशमा संक्रमणकाल समाप्त भएको छ र राजनीतिक निकास प्राप्त भएको अवस्था छ ।त्यसैले अब हामीले गर्ने भनेको आर्थिक क्रान्ति हो । मुलुकको सर्वाङ्गीण विकासले नै सार्वजनिक जीवनमा शान्ति छाउँछ र श्रीवृद्धि हुन्छ । यसका लागि उच्चस्तरको शैक्षिक जनशक्तिको खाँचो पर्दछ । त्यस्तो जनशक्ति विश्वविद्यालयबाटै प्राप्त हुन्छ । चाहे प्राकृतिक विपत्तिबाट देशको पुनर्निर्माण गर्न होस्, चाहे मानव सिर्जित विपत्तिका कारण उत्पन्न भएको जटिल परिस्थितिको सामना गर्न होस्, ठोस योजनाकासाथ तत्कालीन, अल्पकालीन र दीर्घकालीन लक्ष्य अनि उद्देश्य किटान गरेर अनुसन्धानसहित अघि बढ्ने हो भने देशलाई विकसित गर्न हामीलाई धेरै समय लाग्दैन ।
हामीले समावेशिता, सहकार्य र सहअस्तित्वमा आधारित एकताबद्ध समाजको निर्माण गर्नैपर्छ । विविधताबीचको एकता राम्रो र साँचो एकता हो । यो मुलुक सबै जातिको फूलबारी हो त्यसैले सबै फूलहरु फुल्न पाउनु पर्छ । अबको आवश्यकता त्यही हो । आवश्यकताबाट आविष्कार हुन्छ, हरेक समस्याले समाधान ल्याउँछ । वास्तवमा हरेक देश आफ्नै बलबुतामा नै विकसित बन्छ र आफ्नै क्षमताबाट गरिएको विकास मात्रै दीगो पनि हुन्छ ।
अन्त्यमा, काठमाडौँ विश्वविद्यालयको रजत महोत्सवले नेपालको बौद्धिक जगतलाई हौसला दिई नेपालको समृद्धिका लागि लाग्ने प्रेरणा, उत्साह र उमङ्गको सञ्चार गरी हरेक नेपालीमा आफ्नो देशलाई आत्मनिर्भर, स्वाभिमानी र स्वावलम्बी बनाउन प्रेरित गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछु ।
धन्यवाद !
२०७२ साल फागुन २८ गते शुक्रबार