नेपाल संवत् ११४२ को शुभकामना सन्देश
‘नेपाल संवत् ११४२’ प्रारम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने हाम्रो मौलिक राष्ट्रिय संवत् हो । यस संवत्को पहिलो दिन कार्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुन्छ । यस दिनलाई नेपाल संवत्को नयाँ वर्षको रूपमा मनाउने
गरिन्छ ।
लिच्छवी राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले यस संवत्लाई प्रचलनमा ल्याएको मानिन्छ । यसबाट उनले कृषिलाई प्राथमिकता दिएको कुरा समेत स्पष्ट हुन्छ । राष्ट्रिय विभूति साख्वाको लोककल्याण एवं परोपकारी कार्यको स्मरण गर्दै निस्वार्थ भावले समाजको हित‚ उन्नति र प्रगतिका लागि क्रियाशील रहन हामी सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु ।
आदिकालदेखि नै नेपाली समाज सभ्य र सहिष्णु रहिआएको छ । हाम्रा चाडपर्व र यस खालका असल परम्पराहरूले यसलाई थप सुदृढ बनाउँदै लगेका छन् । सांस्कृतिक एवं भाषिक रूपमा विविधतायुक्त नेपाली समाजमा सहिष्णुता र एकताको प्रवर्द्धन गर्ने उत्सवको रूपमा नेपाल संवत् मनाउन सबैमा आह्वान गर्दछु ।
नेपाल संवत्ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव‚ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वासका साथ पुन: नेपाल संवत् ११४२ को हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०७८ साल कात्तिक १९ गते, शुक्रबार ।