सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा महामहिम राजदूत तथा कूटनीतिक नियोगप्रमुख दम्पत्तिका लागि आयोजना गर्नुभएको स्वागत समारोहमा दिनुभएको सम्वोधन
शीतलनिवास, काठमाडौँ
- दिगो शान्ति, स्थायित्व तथा न्याय, समानता, विकास, समावेशी लोकतन्त्र र गणतन्त्रात्मक शासन व्यवस्थाको लागि नेपाली जनताको निरन्तर संघर्ष एवं जनआन्दोलनको परिणामस्वरूप वि.सं २०७२ सालमा आजकै ऐतिहासिक दिनमा नेपालको संविधान जारी भएको हो ।
- राष्ट्रिय दिवस तथा संविधान दिवसको यस पुःनीत अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
- सदा सार्वभौम र स्वतन्त्र मुलुकका नेपाली जनताले यस दिनलाई राष्ट्रिय पर्वका रूपमा मनाईरहँदा हामी गौरवान्वित भएको महशुस गर्दछौँ ।
- लोकतन्त्र स्थापित गर्ने अनवरत संघर्षमा नेपाल आमाका हजारौँ छोरा छोरीले शहादत प्राप्त गरे ।
- यस अवसरमा म ती सम्पूर्ण ज्ञात अज्ञात शहिदहरूप्रति गहिरो सम्मान प्रकट गर्दै हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहन्छु ।
- विश्व शान्तिका अग्रदूत बुद्धको जन्मस्थल पवित्र धर्ती नेपालले संयुक्त राष्ट्र संघको बडापत्रप्रति पूर्ण सम्मान गर्दै आएको छ ।
- हामी विश्वका सबै राष्ट्रसँग सौहार्दपूर्ण सम्बन्ध स्थापना गर्न र सम्बन्धलाई सुदृढ एवं विस्तार निरन्तर लागिपरेका छौँ ।
- नेपाल असंलग्न आन्दोलनको एउटा संस्थापक मुलुकका साथै सार्क, विमस्टेकजस्ता क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र हो ।
- नेपालको संविधान व्यापक जनसहभागितासहित निर्वाचित संविधानसभाद्वारा जारी गरिएको पहिलो ऐतिहासिक संविधान हो ।
- वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको छ ।
- संविधानले मौलिक मानवअधिकार, विधिको शासन, समावेशी लोकतन्त्र, वालिग मताधिकार, स्वतन्त्र न्यायपालिका, स्वतन्त्र प्रेस, शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण, समानता र सामाजिक न्यायजस्ता लोकतन्त्र र प्रगतिशील समाजका मूलभूत आधारहरूलाई आत्मसात गरेको छ ।
- महिला सशक्तीकरणको क्षेत्रमा नेपालले ठूलो प्रगति गरेको छ ।
- यसबाट नीति निर्माण र निर्णायक तहमा महिलाको महत्वपूर्ण सहभागिता हुन पुगेको छ ।
- संविधानले स्थानीय, प्रदेश र संघीय तीनै तहमा स्थापित सरकारहरूबीच शाक्तिको बाँडफाँट समेत स्पष्ट गरेको छ ।
- संविधानले निर्दिष्ट गरेको समानता र न्यायमा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने दिशामा सरकार कटिबद्ध रहेको छ ।
- स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै मुलुकको सामाजिक आर्थिक विकासलाई संबोधन गर्न सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई कार्यान्वयन गरिरहेको छ ।
- हाम्रा राष्ट्रिय स्रोत र मित्र राष्ट्र एवं अन्तर्राष्ट्रिय संघ संस्थाहरूको साझेदारी र सद्भावले हाम्रो विकासको यात्रालाई तिव्रता दिन सकिन्छ भन्ने हाम्रो विश्वास छ ।
- नेपाल एक बहुसाँस्कृतिक सम्पदाले सम्पन्न मुलुक हो ।
- विविधतामा एकता हाम्रो मौलिक शक्ति हो ।
- सामाजिक सद्भाव र सहिष्णुता नेपाली जीवन पद्दतिका महत्वपूर्ण विशेषता हुन् ।
- अन्तमा, म राष्ट्रिय दिवसको यस सुखद अवसरमा मुलुक भित्र तथा विश्वमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूलाई पुनः शुभकामना दिँदै सुस्वास्थ्य र समृद्धिको कामना गर्दछु ।
- नेपाल र नेपाली प्रति सद्भाव राख्ने एवं दिगो विकास प्रयासमा साझेदार बन्दै आएका सबै मित्रराष्ट्रहरू तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूलाई समेत धन्यवाद दिन चाहन्छु ।
- साथै, आजको विविध साँस्कृतिक प्रस्तुतिका निम्ति नेपाल साँस्कृतिक संस्थानलगायत सम्पूर्ण कलाकारहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
धन्यवाद ।
२०७६ साल असोज ३ गते शुक्रबार ।