६६ औँ वार्षिक उत्सव मूल समारोहका अध्यक्ष तथा लोकसेवा आयोगका अध्यक्ष,
सम्माननीय प्रधानमन्त्री,
राज्य व्यबस्था समितिका माननीय सभापति,
लोकसेवा आयोगका सदस्यहरु,
राष्ट्रसेवकहरु,
भद्र महिला तथा सज्जनबृन्द !
लोकसेवा आयोगको ६६ औं वार्षिक उत्सव समारोहका अवसरमा आयोजित कार्यक्रममा शरिक भइ यस गौरवशाली संवैधानिक निकायको उपादेयता, उपलब्धि र योगदानबारे स्मरण गर्न पाउँदा मलाइ खुशी लागेको छ । न्यायपूर्ण, समृद्धशाली तथा आर्थिक र सामाजिक रुपले सशक्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको भविष्य र सपनालाई साकार पार्न आगामी दिनमा आयोगको गहन भूमिका रहेको प्रसंगमा यस्तो समारोहको गरिमा अमm बढेको छ । आफ्नो लामो ६५ बर्षको यात्राका दौरान आयोगले अनेकौँ आरोह अवरोह पार गरिसकेको छ । नियुक्ति, पदस्थापना, सरुवा, बढुवा र सम्बद्ध विषयमा निश्पक्षता र पारदर्शिताको सिद्धान्त अनुरुप राष्ट्रसेवामा सर्बसाधारणलाई आकर्षित गर्न र आमजनताको मन जित्न आयोग सफल भएको छ । विगतको लामो अनुभवको आत्मसमिक्षा गर्दै आफ्नो कर्तव्य पालनमा देखिएका कमीकमजोरीलाई हटाउन र सवल पक्षलाई अझ सुदृढ पार्न पनि यस्ता कार्यक्रमले अवसर प्रदान गरेको छ भन्ने मलाई लागेको छ ।
लोकसेवा आयोग नेपालको संबैधानिक आयोगहरुमध्ये सबैभन्दा पुरानो र अग्रणी संस्था हो । नेपालमा जारी भएका सबै संविधान र प्रशासनसँग आबद्ध ऐन, नियम र प्रशासन सुधार आयोगका प्रतिवेदनहरु समेतमा लोकसेवा आयोेगको अहं भूमिका प्रतिविम्वित भएको पाइन्छ । नेपालको संबिधान २०७२ जारी भइ राज्य पुर्नसंरचनातर्फ जान लागेको प्रसंगमा आयोगको कार्य र परामर्श दुबैको दायरा अझ बढी ब्यापक हुन पुगेको छ ।
जनताबाट निर्वाचित भइ बनेको सार्वभौम संविधान सभाको अत्यधिक बहुमतबाट नयाँ संविधान जारी भइ कार्यान्वयनको तहमा रहेको र अब देशको सम्पूर्ण ध्यान आर्थिक सामाजिक रुपान्तरणतर्फ केन्द्रित भएको प्रसंगमा देशको स्थायी सरकारका रुपमा लिइने मुलुकी प्रशासनलाई अझ स्तरीय, अनुशासित, चुस्त, जनउत्तरदायी र जनताको बढ्दो आकांक्षा अनुरुप सेवा दिनसक्ने बनाउनु नै लोकसेवा आयोगको प्रमुख चुनौती रहेको छ । वर्तमान समयमा सरकारी सेवाप्रति युवाहरुको बढ्दो आकर्षण, सूचना प्रविधिको तीब्र विकास तथा बढ्दो प्रतिश्पर्धा जस्ता विषयलाई सम्बोधन गर्दै आयोगले आफूलाई थप सवल तथा अद्यावधिक गर्नु आजको टड्कारो आवश्यकता हो ।
सीमित जनशक्ति, प्रविधि र सुविधाको परिधि र अन्य कठिनाइका बावजूद आयोगले हालसम्म हासिल गरेका उपलब्धि र सफलता सराहनीय छन् । एकातर्फ सवल र सक्षम जनशक्तिको बढ्दो आवश्यकता रहेको छ भने गत वर्षको विनाशकारी भूकम्पका कारण अन्य सरकारी भौतिक संरचनासहित लोकसेवा आयोगका क्षतिग्रस्त पूर्वाधारको पुर्नर्निमाणका लागि सरकारका तर्फबाट ध्यान जानु त्यत्तिकै जरुरी छ । आगामी दिनमा आपूmलाई थप मर्यादित र विश्वसनीय बनाउँदै सरकार र जनता दुवैसँग सुमधुर सम्बन्ध र समन्वय कायम गरी आफ्नो निर्धारित लक्ष्य हासिल गर्ने कार्यमा आयोगको उत्तरोत्तर प्रगतिका लागि शुभेच्छा दिन चाहन्छु । यसै अवसरमा कार्यकुशलताको अभिबृद्धिका आधारमा प्रोत्साहनस्वरुप पुरस्कृत हुने उत्कृष्ट कर्मचारीहरुलाई बधाइ पनि दिन चाहन्छु ।
धन्यवाद !
२०७३ साल असार १ गते बुधवार