माननीय मन्त्री,
माननीय राज्यमन्त्री,
माननीय सांसदहरु,
प्यारा बालबालिकाहरु,
आज सम्मानीत हुनुहुने महानुभावहरु,
भद्र महिलातथा सज्जनवृन्द !
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयद्वारा आयोजित राष्ट्रिय बालदिवस मूल समारोहको कार्यक्रममा सहभागी भई राष्ट्रका अमूल्य निधि र भविष्य निर्माणका आधारका रुपमा रहेका देशभित्र र बाहिर रहने हाम्रा प्यारा बालबालिकाहरुलाई लक्षित गरी संवोधन गर्न पाउँदा मलाई खुशी लागेको छ ।
गतवर्ष जारी भएको नेपालको संविधानले बालबालिकाको सर्वोत्तम हितलाई स्वीकार गर्दै मौलिक हक अन्तर्गत बालबालिकाका हक अधिकार सम्बन्धमा पर्याप्त प्रावधानहरुको ब्यवस्था गरेको छ, जुनहामी सबै नेपालीका लागि गौरबको बिषय हो ।
“सम्बर्द्धन बालअधिकारकोः कार्यान्वयन संविधानको” भन्ने मूलनाराका साथ मनाउन लागिएको यस बर्षको राष्ट्रिय बालदिवसको उपलक्ष्यमा समस्त नेपाली बालबालिकाप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
आजको दिन बालबालिकाका लागि बिगतमा गरिएका कार्यहरुको उपलब्धि र कमीकमजोरीको मूल्यांकन गर्ने र आगामी दिनमा उनीहरुप्रतिको दायित्व पूरा गर्न प्रतिबद्धता व्यक्त गर्ने महत्वपूर्ण अवसरका रुपमा लिएको छु । बालबालिकाको विकासमा केही सकारात्मक उपलब्धि भएपनि बढ्दो जनआकांक्षालाई दृष्टिगत गरी यतिमा सन्तोष मान्न सकिने अवस्था छैन ।
न्यूनतम स्वास्थ्य सुविधाको अभावका कारण कैयौँ बालबालिका जन्मनुअघि नै मृत्युको शिकार हुने र कतिपय अवस्थामा आवश्यक स्याहार सुसारको कमीले जन्मेपछि मृत्युवरण गर्ने दुःखदायी घटना हाम्रो समाजमा अझ व्याप्त छ ।
थुप्रै बालबालिका स्कूल, घर र समुदायबाट नै शारीरिक तथा मानसिक हिंसामा परेका छन् । देशले राजनीतिक क्षेत्रमा हासिल गरेको आमूल परिवर्तनका बाबजूद बालबालिकाको बेचबिखन र जोखिमपूर्ण श्रमको उन्मूलन हुन सकेको छैन । कतिपय बालबालिकाहरु गतवर्षको विनाशकारी भूकम्पका कारण अझै पीडित र घर बाहिर नै असुरक्षित जीवनयापन गर्न बाध्य छन् भने कति गरिबी र सामाजिक कुरीतिका कारण शिक्षा, स्वास्थ्य र सुरक्षित बाताबरणबाट टाढा छन् ।
नेपालमा परम्परागत रुपमा प्रचलनमा रहेका बालविवाह, दाईजो प्रथा, बालश्रम जस्ता बिभिन्न प्रकारका हानिकारक प्रवृत्तिहरु यद्यपि बिद्यमान छन् । यस्ता सामाजिक कुरीतिकाकारण वालवालिकाका हकअधिकार कुण्ठित भइरहेका छन् ।
उनीहरु शारीरिक तथा मानसिक हिंसाको कुचक्रमा परी कतिपय अवस्थामा ज्यान समेत गुमाउन पुगेको तीतो यथार्थता हाम्रो सामू रहेको छ ।
यस्ता हिंसाजन्य गतिबिधिलाई संविधानले अपराधको रुपमा स्वीकार गरी पीडितलाई क्षतिपूर्तिको हकको व्यवस्था गरेको छ । यसको उचित कार्यान्वयन गर्न सकिएमामात्र सही अर्थमा बालबालिकाको हकअधिकारको संरक्षण हुन सक्दछ । बालबालिकालाई आफ्नो क्षमताको विकास गरी सक्षम बनाउन उनीहरुलाई उपयुक्त पारिवारिक परिवेश प्रदान गर्नु आवश्यक हुन्छ । बालबालिकालाई शिक्षा र स्वास्थ्यको सुविधा र उपयुक्त पारिवारिक वातावरणमा हुर्कन पाउने अवस्थाको श्रृजना गर्ने काममा हामी सबैले ध्यानदिनु जरुरी छ ।
यस कार्यमा अवश्य पनि राज्यको दायित्व बढी रहन्छ । आज बालबालिकामा गरेको लगानीबाट भोलिका दिनमा हामीलाई चाहिने चरित्रवान, दक्ष तथा उत्पादनशील एवं उर्जाशील जनशक्तिको निर्माण सम्भव हुन्छ । आजका बालबालिका भोलिका महत्वपूर्ण मानव संशाधनको कोटीमा पर्ने भएकाले उनीहरु मुलुकको सामाजिक तथा आर्थिक विकासको आधारशीलाको रुपमा रहेका छन् । त्यसैले शिक्षा र स्वास्थ्यमा लगानी बढाऔँ सामाजिक तथा आर्थिक विकासको जग बसालौँ भन्ने मान्यतालाई आत्मसात गर्दै यसको कार्यान्वयनमा जुट्नु जरुरी भैसकेको छ ।
देशमा सामाजिक सद्भाव कायम गर्दै दीगो शान्ति प्राप्तगर्न हरेक पुस्ता शारीरिक र मानसिक रुपले सक्षम हुन जरुरी छ र यसका लागि बालबालिका बचाउ, संरक्षण, विकास र सहभागिता जस्ता आधारभूत बालअधिकारको संरक्षण र प्रबर्द्धन गर्ने कार्यक्रम कार्यान्वयनमा सवैको ध्यान जानु जरुरी हुन्छ । यसका साथै बालअधिकारसँग सम्बन्धित सेवाहरुमा प्रत्येक बालबालिकाको पहुँच सुनिश्चित हुनु पर्दछ ।
बालबालिकाको विकास एक वहुआयामिक र संवेदनशील विषयहो । गर्भावस्थादेखि पहिलो तीनवर्ष अर्थात् सुनौलो हजार दिनआमा र नवजातशिशु दुबैका लागि महत्वपूर्ण अवधि हो । तसर्थ, बालबालिकाको विकास र महिलाउत्थान योजनाले यो सुनौलो हजार दिनलाई प्राथमिकतामा राख्नुपर्दछ भन्ने मेरो धारणा छ ।
अन्तमा, आजको यस दिवसको महत्वपूर्ण अवसरमा सम्पूर्ण वालवालिकालाई पुनः बधाई र शुभकामना व्यक्त गर्दै कार्यक्रममा सहभागी हुने अवसर दिनु भएकोमा सम्बन्धित सबैलाई धन्यवाद दिन चाहन्छु र आज सम्मानीत हुनुहुने सबैलाई बधाई समेत दिन चाहन्छु ।
धन्यवाद !
२०७३ साल भदौ २९ गते बुधवार