६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७४ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । आजको दिनले हामी सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।
२००७ साल फाल्गुण ७ गतेका दिन निरङ्कुश जहानियाँ राणाशासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष प्रजातन्त्र दिवसका रुपमा मनाउने गरेका छौं । प्रजातन्त्र बहाली र संस्थागत गर्ने क्रममा 2007 साल, २०४६ साल र २०६२-६३ सालमा सफल आन्दोलनहरु भए । ती सबै आन्दोलनका प्रतिबिम्बित जनइच्छा अनुसार नै आज हामी गर्वका साथ संघीय लोकतान्त्रिक संविधान सहितको गणतन्त्रात्मक शासन पद्धति अपनाइरहेका छौँ ।
हामीले प्राप्त गरेका उपलब्धीहरुको मूल्यांकन गर्दै त्यसबाट प्राप्त अनुभव तथा पाठबाट निर्देशित भएर सुशासन, शान्ति र सहमतिलाई आत्मसात् गरी अगाडि बढ्नु हाम्रो साझा जिम्मेवारी र दायित्व हो । हालै भएका विभिन्न चरणमा सम्पन्न निर्वाचन मार्फत प्राप्त जनादेश अनुरुप देशमा आर्थिक समृद्धि र सुशासन कायम गर्नु आजको आवश्यकता हो ।
अन्त्यमा, आज ६८ औँ प्रजातन्त्र दिवस मनाइरहँदा प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात-अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै यस दिवसले प्रजातन्त्रलाई जीवनपद्धति बनाएर अगाडि बढ्ने प्रेरणा हामी सबै नेपालीमा दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद !
२०७४ साल फागुन ७ गते सोमबार ।