तिहार पर्व, २०७८ को शुभकामना सन्देश
नेपालीहरूको महान् चाड तिहार, २०७८ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त
गर्दछु ।
बडा दशैँ पर्वको रमझम सकिए लगत्तै कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिनदेखि कार्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्व नेपालीहरूको मौलिक चाडको रूपमा रहेको छ । यम पञ्चक समेत भनिने तिहार पर्वमा काग‚ कुकुर‚ गाई‚ गोरू लगायत पशुपंक्षीका साथै धन र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा र दिदीबहिनीद्वारा भाइको पूजा गरिनुका साथै देउसी–भैलो खेल्दै नाचगान र मनोरञ्जन गर्ने परम्परा रहेको छ ।
तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति¸ मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइ बीचको आपसी स्नेहलाई गाढा बनाउँदछ । तिहारको अवसरमा देउसी–भैलो खेल्ने विशुद्ध नेपाली संस्कृतिले बृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पुर्याउँदछ । यसका साथै देउसी–भैलोको दक्षिणाबाट संकलित रकमबाट विद्यालय, चौतारा, धारा, पाटी‚ पौवाको निर्माण तथा मर्मत सम्भार जस्ता सामुदायिक हितका रचनात्मक कार्य गर्ने असल परम्परा समेत तिहार पर्वसँग जोडिएका छन् । हाम्रा चाडपर्वहरूसँग जोडिएका यस प्रकारका राम्रा परम्परा र अभ्यासलाई हामीले जगेर्ना गर्नु पर्दछ भन्ने मलाई लाग्दछ ।
झिलिमिली बत्तीको उज्यालोले औंसीको कालो अँध्यारोलाई जित्ने तिहार पर्व एक प्रतिकात्मक उत्सव पनि हो । दिपावलीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना गर्दछु ।
तिहार पर्वले सम्पूर्ण नेपालीहरू बीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वासका साथ पुन: तिहार पर्व, २०७८ को हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०७८ साल कात्तिक १८ गते, बिहीबार ।